नक्कली सुन राखेर बैंकबाट २५ लाख ऋण लिए, ब्याज नतिरेपछि छानविन गर्दा पक्राउ परे


कार्तिक २८, काठमाडौँ । अभिषेक सुनारले नक्कली सुन राखेर दुईवटा बैंकबाट कर्जा लिए। एउटा मात्रै होइन, दुई वटा बैंकलाई झुक्याउँदा समेत पत्तो पाएनन्। उनले विरौटाको राष्ट्रिय वाणिज्य बैंकबाट १६ लाख ६० हजार र पृथ्वीचोकको राष्ट्रिय वाणिज्य बैंकबाट ७ लाख ४५ हजार कर्जा लिए।

पर्वतको कुश्मा नगरपालिका ३ स्थायी घर भएका २५ वर्षीय सुनारले समयमा कर्जा र ब्याज तिरेनन्। लामो समय कर्जा नतिरेपछि छानविन सुरु भयो। उनले राखेको सुन नक्कली भएको पत्ता लाग्यो। प्रहरीले सराङकोटबाट सुनारलाई पक्राउ गरेको छ।

कर्जाको व्याज तिर्न लामो समयसम्म नआएपछि सुनारले बैंकमा धितो राखेको सुन चेकजाँच गर्दा नक्कली भएको खुलेको हो। प्रहरीका अनुसार सुनारले धितो राखेको सुन नेपाल सुनचाँदी व्यवसायी संघ कास्कीले चेकजाँच गर्दा नक्कली सुनबाट तयार पारेको प्रतिवेदन दिएको थियो।

सुनारलाई अपराधिक विश्वास घात तथा अपराधिक लाभ सम्बन्धि मुद्दामा ५ दिनको म्याद थप गरी अनुसन्धान थालिएको कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?