अष्ट्रेलियामा १ लाख २० हजार डलर कमाइ हुने क्षेत्रमा नै कामदारको चरम अभाव
मंसिर ३, मेलबर्न अष्ट्रेलिया । अष्ट्रेलियामा साइबर सेक्युरेटीको क्षेत्रमा काम गर्ने जनशक्ति कम हुने प्रक्षेपण गरिएको छ। लगातार साइबर आक्रमण भइरहेको अवस्थामा यो क्षेत्रमा जनशक्ति अभाव हुने देखिएको हो।
अस्टसाइबरको द साइबर सेक्युरिटी सेक्टर कम्पिटिटिभनेस प्लानले सार्वजनिक गरेको एक प्रतिवेदनमा देशभर २०२६ सम्म ३ हजार साइबर सुरक्षाको क्षेत्रमा काम गर्ने जनशक्तिको अभाव हुने अनुमान गरिएको छ। पछिल्लो पाँच वर्षमा साइबर आक्रमणको दर पनि दोब्बर हुने उल्लेख गरिएको छ।
प्रतिवेदनका अनुसार लगानीको अभाव आगामी अभावको मुख्य कारण हुनेछ। अष्ट्रेलियाली साइबर सुरक्षा स्टार्टअपहरूले अन्तर्राष्ट्रिय तुलनामा ३०० गुणा कम सहायता प्राप्त गर्दै गरेको उल्लेख छ।
अष्ट्रेलियामा साइबर सुरक्षाको क्षेत्रमा काम गर्नेहरूको वार्षिक कमाइ १ लाख २० हजार डलर हुन्छ। सिकको डाटा अनुसार सुरूवाती चरणमा यो क्षेत्रमा प्रवेश गरेकाहरूले १ लाख डलर र अनुभवीहरूले १ लाख ६० हजार डलरसम्म कमाउँछन्।
अष्ट्रेलियन साइबर विक २०२२ मा सार्वजनिक गरिएको डाटा अनुसार अष्ट्रेलियामा प्रत्येक ७ मिनेटमा एक जनाले साइबर अपराधको रिपोर्ट गर्छन्। गत आर्थिक वर्षमा अष्ट्रेलियाको साइबर ब्युरोमा ७६ हजार वटा साइबर सुरक्षा सम्बन्धि उजुरी परेका छन्।
अष्ट्रेलियामा एकै महिना २ ठूला साइबर अपराधका घटनाहरू भएका छन्। अप्टस ह्याकिङ प्रकरणमा १ करोड मानिसहरू प्रभावति हुँदा मेडबैंक ह्याकिङमा ९७ लाख ग्राहकहरूको विवरण खतरामा परेको छ।
मेडिबैंक ह्याकिङमा संलग्न व्यक्त रूसमा रहेको अष्ट्रेलियाका अधिकारीहरूले दाबी गरिरहेका छन्। फिराैती तिर्न अस्वीकार गरेपछि मेडिबैंकका ग्राहकहरूको विवरण ह्याकरले सार्वजनिक गर्न थालेका छन्।