चितवनमा तीन स्थानमा मतगणना गरिने
मंसिर ४, चितवन। चितवनमा तीन स्थानबाट मतगणना गरिने भएको छ। तीन निर्वाचन क्षेत्रमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मतगणनाको तयारी गरिएको हो।
मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको भरतपुरमा निर्वाचन क्षेत्र नं २ को गणनाका लागि चितवन उद्योग सङ्घको हलमा गणनास्थल तयार गरिएको छ। मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले मतगणनास्थलमा १० सिसीटिभी, मनिटर र फलामे बारसहितको जाली लगाइएको बताए। यहाँ चार ठाउँबाट गणनाको काम थालिने उनले जानकारी दिए। दुई ठाउँबाट प्रतिनिधिसभा र दुई ठाउँमा प्रदेश क्षेत्र (१) र (२) को प्रत्यक्षको मतगणना गर्ने थापाले बताए। अन्य निर्वाचन क्षेत्रमा पनि सोहीअनुसारको गणनाको योजना बनाइएको उनको भनाइ छ।
मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा गर्ने गरी तारजाली र सिसीटिभी क्यामरा जडानको काम गरिएको मुख्य निर्वाचन अधिकृत थापाले जानकारी दिए। यहाँ विसं २०७४ को स्थानीय तहको निर्वाचनअन्तर्गत भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा मतपत्र च्यातिएपछि देशैभरि मतगणनास्थलमा तारजाली लगाउन थालिएको छ।
चितवन क्षेत्र नं १ को खैहरनी माविमा मतगणना गर्ने तयारी गरिएको छ। त्यहाँ चार ठाउँमा मतगणनाका लागि तयारी गरिएको छ। यस्तै चितवन क्षेत्र नं ३ को कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा मतगणनाको तयारी गरिएको छ। यहाँ दुई ठाउँमा मतगणना गर्ने गरी संरचना निर्माण गरिएको छ। मुख्य निर्वाचन अधिकृत थापाले तीन दिनभित्र प्रत्यक्षतर्फको गणनाको काम सक्ने लक्ष्य राखिएको बताए।