पुटिनले रुसी सेनाका आमालाई भेट्ने
मंसिर ७, एजेन्सी। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा भीषण लडाइँबीच आगामी दिनमा सैनिकहरूका आमाहरूलाई भेट्ने भएका छन्। राष्ट्रपति प्रशासनका तीन अज्ञात स्रोतहरूलाई उद्धृत गर्दै वेदोमोस्ती अखबारले जनाएअनुसार मातृ दिवसका अवसरमा राष्ट्रपति पुटिनले युक्रेनमा खटिएका सेनाका आमाहरूलाई भेट गर्ने भएका हुन्।
रुसले नोभेम्बर २७ मा मातृ दिवस मनाउछ। पुटिनले सैनिकका आमासँग भेट गर्नेबारेमा क्रेमलिनले भने आधिकारिक रूपमा पुष्टि गरेको छैन। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले यसबारेमा थप विवण नदिएको सो अखबारले जनाएको छ।
युक्रेन युद्ध नवौं महिनामा चलिरहँदा दुबै देशतर्फ ठूलो क्षति भएको छ। रुसले ठूलो संख्यामा सेना गुमाएको छ भने युक्रेनका पूर्वाधारमा अभूतपूर्व क्षति भएको छ। गत साता मात्र रुसी सेनाले युक्रेनका विद्युत पूर्वाधारमा हमला गर्दा लाखौँ युक्रेनी अन्धकारमा बस्न बाध्य भएका छन्।
युक्रेनमा यस वर्षको हिउँदमा लाखौ मानिसको जीवन कष्टकर हुने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले चेतावनी दिएको छ। युक्रेनमा यो हिउँदमा तापक्रम माइनस २० डिग्री सेन्टिग्रेडसम्म झर्न सक्ने अनुमान गरिएको छ।