रुपन्देही ४ बाट सर्वेन्द्रनाथ शुक्ला विजयी
मंसिर ७, भैरहवा । रुपन्देहीको क्षेत्र नम्बर ४ प्रतिनिधि सभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्ला विजयी भएका छन्।
५ हजार २ सय ९६ मतान्तरले नेपाली कांग्रेसका प्रमोद यादवलाई पछि पार्दै शुक्ला विजयी बनेका हुन्। १३ जना उम्मेदवार रहेको क्षेत्र नम्बर ४ बाट शुक्ला २८ हजार मत ल्याई विजयी बनेका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रमोद यादवले २२ हजार ७ सय ४ मत ल्याएका छन् भने तेस्रो स्थानमा जनमत पार्टीका भोपेन्द्र यादवले १५ हजार ५ सय २६ मत ल्याए।
विजयी भएपनि निर्वाचन कार्यालयले घोसणा गरेको छैन। २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका प्रमोद कुमार यादवले शुक्ललाई पराजित गरेका थिए। अहिले शुक्लले प्रमोद यादवलाई पराजित गरेका छन्।
निर्वाचन क्षेत्र नम्बर ४ मा १ लाख १० हजार ६ सय ५९ मतदाता रहेकोमा ७७ हजार ६४ जनाले मताधिकार प्रयोग गरेका थिए। प्रत्यक्ष तर्फ भने प्रतिनिधी सभामा ७६ हजार ६ सय ७५ जनाले मत हालेका थिए।
यस्तै प्रदेश सभा सदस्यमा १ मा लोसपाकै कन्हैया यादव १५ हजार १ सय ५५ मत ल्याई विजयी बनेका छन भने प्रदेश सभा २ मा नेपाली कांग्रेसका बसिउद्दीन खाँ ११ हजार ३ सय ५ मत ल्याई विजयी भइसकेका छन्। प्रत्यक्ष तर्फको निर्वाचन पछि अब समानुपतिकतर्फको मतगण्ना सुरु हुनेछ।