२२ दलको सडक आन्दोलन, संविधानसभा भवन घेराउ र नाराबाजी
पहिचानसहितको सङ्घीयता पक्षधर एकीकृत नेकपा (माओवादी)सहित २२ दलले शुक्रबार काठमाडौंमा प्रदर्शन गरेको छन् । नयाँ संविधानमा पहिचानसहितको सङ्घीयताका लागि दबाब दिन आन्दोलनका कार्यक्रम घोषणा गरेका ती दल शुक्रबार काठमाडौँ माइतीघर मण्डलदेखि संविधानसभा भवन बाहिर बानेश्वरसम्म नारा जुलुससहित सहभागी थिए । प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै एमाओवादीका महासचिव कृष्णबहादुर महराले पहिचान विरोधी संविधान बनाउने प्रयत्न भइरहेको आरोप लगाउँदै त्यसविरुद्ध आफूहरूले सदन र सडक दुवैबाट प्रतिरोध गर्ने चेतावनी दिनुभयो । मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का महामन्त्री जितेन्द्र देवले नेपालमा भएका विभिन्न आन्दोलनको उद्देश्य प्रगतिशील र लोकतान्त्रिक समाज निर्माण गर्नु रहेको बताउँदै सत्तारुढ दल त्यसबाट भाग्न खोजेको आरोप लगाउनुभयो । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले संविधानसभा बाहिर रहेको दललाई पनि मान्य हुने गरी संविधान बनाउनुपर्ने जोड दिनुभयो । थरुहट तराई पार्टीका अध्यक्ष भानुराम थारुले पहिचानसहितको सङ्घीयताको लागि आन्दोलनको सुरुआत भएको बताउँदै यसले लक्ष्य प्राप्त गरी छाड्ने उद्घोष गर्नुभयो । प्रदर्शनमा एमाओवादी सचिव वर्षमान पुन, फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदार, तराई –मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतको सहभागिता थियो ।