गुल्मी १ मा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली पराजित
मंसिर ९, काठमाडौँ । गुल्मीको क्षेत्र नं १ मा नेपाली कांग्रेसका डा चन्द्र भण्डारी विजयी भएका छन्। नेकपा (एमाले)का प्रदीप ज्ञवालीलाई एक हजार पाँच सय ९२ मतले पछि पार्दै उनी विजयी भएका हुन्।
यस क्षेत्रमा कूल ६९ हजार छ सय ८३ मत खसेकामा कांग्रेसका भण्डारीले ३३ हजार सात सय ४४ मत प्राप्त गर्नुभयो भने निकटतम प्रतिस्पर्धी ज्ञवालीले ३२ हजार एक सय ५२ मत प्राप्त गरे।
आज दिउँसो १ बजे सकिएको मतगणनापछि भण्डारीको विजयी घोषणा गरिएको निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिए। यहाँ कूल एक लाख १९ हजार दुई सय ८८ मतदाता थिए। गुल्मीको सदरमुकाम तम्घाससँगै पूर्वी यो क्षेत्रमा कालीगण्डकी गाउँपालिका, चन्द्रकोट गाउँपालिका, सत्यवती गाउँपालिका, रुरुक्षेत्र गाउँपालिका, छत्रकोट गाउँपालिका, गुल्मीदरबार गाउँपालिका र रेसुङ्गा नगरपालिकाका–७ देखि १४ सम्मका वडा पर्दछन्।
यो विजयसँगेै कांग्रेसका भण्डारी दुई पटक सांसद बनेका छन्। उनले २०७० मा पनि यसै क्षेत्रमा विजयी हासिल गरेका थिए। २०६४ देखि सँगसँगै निर्वाचन लडेका ज्ञवाली र भण्डारीले दुई–दुई पटक चुनाव जिते। विसं २०६४ र ७४ मा भने यस क्षेत्रबाट ज्ञवाली विजयी भएका थिए।