प्रदेशसभा सदस्यमा एमालेको बारामा तेस्रो जित, चौधरी पुनः निर्वाचित


मंसिर ९, बारा। बारा १ (क) को प्रदेशसभा सदस्यमा त्रिलोकी चौधरी पुनः निर्वाचित भएका छन्। उनी दुई हजार पाँच सय २८ मतको फराकिलो मतान्तरले निर्वाचित भएका हुन्।

चौधरीले १६ हजार सात सय ९८ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार रमेश दंगालले १४ हजार दुई सय ७० मत प्राप्त गरेका छन्। चौधरी २०७४ को निर्वाचनमा पनि निर्वाचित भएका थिए।

चौधरीको जितसँगै एमालेले बारामा उम्मेदवारी दिएको चार प्रदेशसभामध्ये तीनमा जित हात पारेको छ। यसअघि बारा ४(क) मा देवनारायण चौधरी, ३ ( क) मा रवीन्द्रदास श्रेष्ठ निर्वाचित भइसकेका छन्।

बारा २ (क) मा भने एमाले उम्मेदवार बलवीर चौधरी पराजित भएका छन्। उनले उम्मेदवारी दिएको क्षेत्रमा स्वतन्त्र उम्मेदवार शारदा शंकर कलवार निर्वाचित भएका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?