पानामा पेपर लिक प्रकरणपछि शक्तिशालीहरुबीच हलचल, आइसल्यान्डका प्रधानमन्त्रीको राजीनामा
पानामा पेपर लिकमा आफ्नी पत्नीको साथ मिलेर विदेशमा गुप्त रुपमा लगानी गरेको खुलेपछि आइसल्यान्डका प्रधानमन्त्री सिगमुन्दुर गनलाउसनले राजीनामा दिएका छन् ।
उनले करोडौं डलर गुप्त रुपमा देश बाहिर लगानी गरेको बाहिर आएको थियो ।
गनलाउसनले सम्पूर्ण सेयर आफ्नो पत्नीलाई बेचेको र आफू कुनै आर्थिक अपचलनमा संलग्न नरहेको दावी गरे पनि विपक्षीहरुको प्रदर्शनका कारण उनी राजीनामा दिन बाध्य भएका हुन् । पानामा पेपर लिकबाट बाहिर नाम आएर दर्जनौं विशिष्ठ व्यक्ति मध्ये उनी पनि एक हुन् ।
उनको नाम पानामा पेपर लिकमा देखिएपछि हजार मानिसले त्यहाँको संसद्–भवन बाहिर प्रदर्शन गरेका थिए । यस्तै प्रतिपक्षी दलले पनि संसद्मा उनी विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिरहेको थियो ।
विश्व नेता तथा प्रतिष्ठित व्यक्तित्वलगायतका नाम जोडी आएको ‘पानामा पेपर्स स्क्यान्डल’ ले उनीहरुको नाम जोडी समुद्रपार गएर गर्ने गरेका वित्तीय कारोबारका समाचार बाहिर ल्याइदिएपछि तरंग उत्पन्न गरेको छ ।
दस्तावेजले ठूला वित्तीय अनियमिततामा संलग्नता भएको भनी नाम सार्वजनिक गरेका व्यक्ति तथा संघसंस्थाले आफूहरुलाई अन्यायपूर्ण तरिकाले लक्षित गरिएको दाबी गर्दै आफूलाई निर्दोष सावित गर्ने प्रयासस्वरुप दाबीप्रति अस्वीकारोक्ति व्यक्त गरेका छन् ।
कैयौं राष्ट्रले राजस्व छली गरी अकुत सम्पत्ति आर्जन गरी विदेशी वित्तीय संस्थामा सम्पत्ति थुपारेको भनी छानबिन प्रक्रियालाई अगाडि बढाउने बताइसकेका छन् ।
दस्तावेजले चिनियाँ कम्युनिस्ट नेता सी जिनपिङका आफन्तजन, रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन, आइस्ल्यान्डका प्रधानमन्त्री सिगमण्डर डेभिड गनलागसन र वार्सिलोनाका सुप्रसिद्ध फुटबर स्ट्राइकर लियोनल मेसीलगायतका करिब १ करोड १५ लाख दस्तावेजको अध्ययन गरेको र प्रसिद्ध यी नामहरुका पछि पनि आर्थिक अनियमितताका कुरालाई जोडेको छ ।
जाँचअनुसार करिब १४० जना विश्वहस्ती राजनीतिज्ञको नाम जोडिएर आएपछि विश्वभर विशेष चर्चा भएको छ । दस्तावेजले करिब ४० वर्षको लेनदेनलाई सम्मिलित गरी अनुसन्धान गरेको बताइएको छ ।
बेइजिङले आईसीआईजीको दाबीको आधिकारिक प्रतिक्रिया दिएको छैन । तर चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हङलेइले यस्ता ‘आधारहीन आरोपबारे आफूले कुनै टिप्पणी नगर्ने’ बताउनुभएको छ ।
त्यसैगरी, रसियाली प्रशासन केन्द्र क्रेमलिनले रसिया र नेता पुटिनको नाम जोडेर आएको यस अफवाहलाई अमेरिकाको षड्यन्त्र भनेको छ । रसियाली नेता पुटिनको निकट सहयोगीको नाम समुद्रपारको वित्तीय कारोबार गर्ने शासकको शीर्षस्थानमा राखिनुलाई अमेरिकाको बेइमानी भनेको छ ।
पुटिन निकट सहयोगीको नाममा २ अर्ब अमेरिकी डलरको अकुत सम्पत्ति आर्जन गरी विदेशी बैंकमा राखेको आरोप छ ।
बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनका बाबुको नाम जोडिएर आएपछि क्यामरुनको डाउनिङ स्ट्रिट अफिसले यो निजी कुरा भएको जनाएको छ ।