इंगल्याण्डमा क्रिश्चियन धर्म मान्नेको संख्या घट्यो, हिन्दु धर्म मान्नेहरू बढ्दै
मंसिर १४, लण्डन । इंगल्याण्डको आधा जनसंख्या भन्दा कम व्यक्ति मात्रै इसाइ धर्ममा विश्वास गर्ने पाइएको छ। पछिल्लो जनगणनाका अनुसार त्यहाँमा आधा जनसंख्या भन्दा कम व्यक्ति क्रिश्चियन धर्ममा विश्वास गर्ने पाइएको हो।
पहिलो पटक अल्पसंख्यक जनसंख्याले देशको आधिकारिक धर्म पछ्याएको इंगल्याण्डको पछिल्लो जनसंख्याबाट देखिएको छ।
पछिल्लो जनगणनाले इंगल्याण्ड पछिल्लो दशकमा कम धार्मिक र कम गोरा व्यक्तिहरूको बसोबास गर्ने देश भएको छ। अफिस फर नेसनल स्टाटिसटिक्सले मंगलबार इंगल्याण्डको जनगणनाको रिपोर्ट निकालेको हो।
सन् २०२१ को जनगणनामा इङ्ल्यान्ड र वेल्सका करिब ४६.२ प्रतिशतले आफूलाई क्रिस्चियन भएको बताएका छन्। एक दशक अघि ५९.३ प्रतिशत रहेको यो धार्किम वितरण घटेर आधा भन्दा कममा पुगेको हो।
इंगल्याण्डमा क्रिश्चियन धर्म मान्नेहरूको संख्या घट्दा इस्लाम धर्ममा आस्था राख्ने व्यक्तिहरूको संख्या भने ४.९ प्रतिशतबाट बढेर ६.५ मा पुगेको छ। त्यस्तै, इंगल्याण्डमा हिन्दु धर्म मान्नेहरूको संख्या पनि बढेको छ। १० वर्षको अन्तरालमा हिन्दु धर्म मान्नेहरू १.५ प्रतिशतबाट बढेर १.७ प्रतिशतमा पुगेको छ। इङ्ल्यान्ड र वेल्समा करीब १० लाख हिन्दु धर्म मान्नेहरू भएको पछिल्लो जनगणनामा देखिएको छ।
इंगल्याण्डका नवनिर्वाचित प्रधानमन्त्री ऋषी सुनक पनि हिन्दु धर्मप्रति आस्था राख्ने देखिएका छन्। प्रधानमन्त्री चुनिएपछि उनी आशिर्वाद लिन मन्दिर गएका थिए।
हरेक तीन जनामध्ये एक जनाले कुनै धर्म नमान्ने बताएका छन्। समग्रमा ३७ प्रतिशत बेलायतीले कुनै धर्म नमान्ने देखिएको छ।