हजुरआमासँग बाटोमा हिंडीरहेका नेपाली १५ महिने बालकको अबर्न सडक दुर्घटनामा मृत्यु
सिड्नीको अबर्नमा एक नेपाली बालकको सडक दुर्घटनामा ज्यान गएको छ । मरिअन स्ट्रीटमा बिहीबार विहान ९ः३० बजे दुर्घटना भएको थियो । आफ्नो प्रिस्कुलमा जान हिंडेका बालकलाई पुर्याउन उनकी हजुरआमा गएकी थिइन् । दुर्घटना लगत्तै सहायक नर्स मरियम जेरिकाले बालकको उपचार गर्ने प्रयास गरेपनि त्यतिबेलासम्म ढिला भइसकेको थियो । आफ्नो परीक्षाको तयारी गरिरहेकी उनकी आमा आइसक्दा छोरो श्रेयनलाई अस्पताल लाने तयारी भएको थियो । प्रहरी आइपुग्ने बित्तिकै उनलाई अस्पतालतर्फ लगियो । प्रत्यक्षदर्शीहरुले बालक हजुरआमाको हात छुटाएर सडकमा गएको बताएका छन् भने केहीले तिव्र गतिमा आएको कारले सडक पेटीमा ठक्कर दिएको बताएका छन् । प्रहरीले यस सम्बन्धमा अनुसन्धान अघि बढाएको जनाएको छ । दुर्घटनामा सँगै रहनुभएकी हजुरआमालाई केही भएको छैन । यो ठाउँमा यसअघि पनि यस्तैगरी दुर्घटना भएको र उक्त पर्खाल तेश्रो पटक भत्किएको छिमेकीहरुले बताएका छन् । “स्कुल नजिकै भएका ठाउँमा गाडी चालकहरु बढी सतर्क रहनु पर्दछ । यहाँ विस्तारै गाडी चलाउनु पर्दछ भन्ने हेक्का राख्नु पर्दछ ।” गाडी एक ५० वार्षीय स्थानीय महिलाले चलाइरहेको बताइएको छ । श्रेयन थापाका बुबा सुजन र आमा रोजिता यतिबेला शोकमा छन् । साथै, आफ्नै हात समातेर हिंडेको नाति गुमाउँदा हजुरआमा मेनुका झन बढी मर्माहत हुनुभएको छ । यससँगै नेपाली समूदाय पनि घटनाबाट मर्माहत बनेको छ ।