फुटबलको बरियतामा नेपालको उल्लेख्य सुधार, बेल्जियमलाई पछि पार्दै अर्जेन्टिना शीर्ष स्थानमा
पछिल्लो पटक साफ च्याम्पियनसीप फुटबल र बंगबन्धु गोल्डकप फुटबलको उपाधि जितेको नेपालले फिफाको वरियतामा उल्लेख्य सुधार गरेको छ ।
गत महिनाको वरियतामा ६ स्थानले सुधार गर्दै नेपाल १ सय ७९ औं स्थानमा उक्लिएको हो । गत महिनाको वरियतामा नेपाल १ सय ८५ औं स्थानमा थियो ।
विश्व फुटबल महासंघ (फिफा) ले बिहीबार सार्वजनिक गरेको नयाँ वरियताअनुसार ८० अंक प्राप्त गर्दै नेपाल ६ स्थान माथि उक्लिएको हो ।
दक्षिण एसियाली मुलुकहरुमध्ये अफगानिस्तान सबैभन्दा माथि १ सय ४७ औं स्थानमा छ । नेपालभन्दा माथि रहेका माल्दिभ्स १ सय ६० औं, भारत १ सय ६२ औं र बंगलादेश १ सय ७७ औं स्थानमा छन् ।
दक्षिण एसियाली मुलुक भुटान १ सय ८६ औं, श्रीलंका १ सय ८७ औं र पाकिस्तान १ सय ९० औं स्थानमा छन् ।
यसैगरी वरियतामा बेल्जियमलाई पछि पार्दै अर्जेन्टिना शीर्ष स्थानमा उक्लिएको छ । गत महिना दोस्रो स्थानमा रहेको अर्जेन्टिनाले यो महिना ७५ अंक थप्दै वरियतामा आफूलाई शीर्ष स्थानमा पु-याएको हो । अर्जेन्टिनाले जम्म १५३२ अंक प्राप्त गरेको छ । बेल्जियम भने १ सय ५४ अंक गुमाउँदै १३३५ मा आइपुगेको छ ।
वरियताको तेस्रो स्थानमा चिली र चौथो स्थानमा कोलम्बिया छन् । विश्वविजेता जर्मनी पाँचौं स्थानमा रहँदा स्पेन छैठौं, ब्राजिल सातौं, पोर्चुगल आठौं, उरुग्वे नवौं र इङ्ल्यान्ड १० औं नम्बरमा छन् ।