ब्रसेल्स हमलाका थप एक संदिग्ध इटालीमा पक्राउ


brussels

बेल्जियमको राजधानी ब्रसेल्समा गत महिना भएको आतंकवादी आक्रमणमा संलग्न रहेको आशंकामा एकजना अल्जेरियाली नागरिक इटालीमा पक्राउ परेका छन् ।

इटालियन प्रहरीले अल्जेरियाली नागरिकलाई पक्राउ गरेको इटालियन सञ्चारमाध्यम आन्साले शुक्रबार जानकारी दिएको छ ।

दक्षिणी इटालिनको तटीय प्रान्त सालेर्नोको बेल्लीजी सहरबाट जमाल एडिन ओवालीलाई पक्राउ गरिएको हो । यसअघि पनि सोही क्षेत्रमा अर्का एकजना अल्जेरियाली नै पक्राउ परेका थिए ।

जमालले गत २०१५ को अक्टोबरमा बेल्जियम प्रवेश गर्न लाग्दा नक्कली कागजपत्र पेस गरेको पत्ता लागेको छ । यसअघि ब्रसेल्स प्रहरीले सार्वजनिक गरेको हमलामा संलग्नहरुको स्केचका आधारमा उनी पक्राउ परेका बताइएको छ ।

पक्राउ परेकालाई अनियमित अध्यागमन र पछि वेल्जियममा कुनै आपराधिक संगठनमा संलग्न भएको आरोपमा अधिकारीले पक्राउ गर्नुपर्ने अभियुक्तको सूचीमा राखेका थिए ।

पक्राउ परेका व्यक्तिले प्रयोग गरेको नक्कली राहादानी र भिषासमेत पेरिस र ब्रसेल्स आक्रमणको क्रममा स्थानीय अधिकारीलाई झुक्याई प्रयोग गरेको समेत खुल्न आएको छ ।

अनुसन्धानका क्रममा करिव एक हजार जनाको फोटोसहित नक्कली कागजपत्र प्रहरीले सार्वजनिक गरेको थियो ।

पक्राउ परेका जमाललाई बेल्जियम र इटालीसम्म आतंकवादी हमला गर्ने अतिवादी संगठनसँग आवद्ध भएको समेत अनुसन्धानले देखाएको बताइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?