उत्तर कोरियाद्वारा दक्षिण कोरियाली राष्ट्रपतिको निन्दा
उत्तर कोरियाले दक्षिण कोरियाली राष्ट्रपति पार्क गेन हाइको निन्दा गरेको छ । उत्तरले दक्षिणका राष्ट्रपतिलाई आपत्तिजनक शब्दमा गालीगलौज समेत गरेको बताइएको छ ।
उसले दक्षिण कोरियाली राष्ट्रपति हाइलाई राक्षसी स्वरुप भएकी महिलाको संज्ञा दिएको छ । उत्तर कोरियाले दक्षिणमाथि गर्ने गरेको बिगतदेखिकै आक्रमणको शृङ्खलाको यो अन्तिम रुप हो ।
गत हप्तामात्र अमेरिकामा सम्पन्न भएको आणविक सम्बन्धी विश्व सम्मेलनमा सहभागी भएर उत्तरको विरोध गरेकोमा विशेषगरी उत्तर कोरियाले रोष प्रकट गरेको पाइएको हो ।
उत्तर कोरियाको पिसफूल रियुनिफिकेशन कमिटीका प्रवक्ताले यसरी दक्षिण कोरियाली राष्ट्रपतिको विरोध गरेका हुन् ।
फेब्रुअरी–६ मा गरेको लामो दुरीको रकेट परीक्षणपछि पनि फेरि उत्तर कोरियाले कैयौं पटकसम्म व्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको बताइएको छ ।
योनहाप समाचार समितिले दिएको जानकारीअनुसार उत्तर कोरियाको पूर्वी भूभागलाई लक्ष्य गरेर हालैमात्र अर्काे क्षेप्यास्त्र परीक्षण गरेको थियो । मध्यमदुरीको यात्रापछि सो क्षेप्यास्त्र पानीमा खसेको थियो ।