होबार्टको संग्रहालयमा फेला पर्यो ८५ वर्षअघि लोप भएको बाघको अवशेष


मंसिर २०, मेलबर्न अष्ट्रेलिया । तास्मानियन बाघको अवशेष अष्ट्रेलियाको एक संग्रहालयको दराजमा राखिएको अवस्थामा फेला पारिएको छ। ८५ वर्ष अघि नै लोप भएको बाघको शरीरको अवशेष त्यहाँ फेला परेको हो।

थिलासिन सन् १९३६ मा होबार्ट चिडियाखानामा मरेपछि यसको शव स्थानीय संग्रहालयलाई दिइएको थियो। तर पछि यसको कंकाल र छालामा के भयो भन्ने रहस्य रहेको छ।

तास्मानियन म्युजियम र आर्ट ग्यालरीले अवशेषहरूको रेकर्ड हराएका कारण अवशेष बाहिर फालिएको विश्वास गरेका थिए। नयाँ अनुसन्धानले ती सबै संग्रहालयमा संरक्षित भएको पत्ता लगाएता पनि ठीकसँग सूचीकृत नभएको देखाएको थियो।

‘वर्षौंसम्म धेरै सङ्ग्रहालय क्युरेटरहरू र अन्वेषकहरूले यसको अवशेषहरू खोज्न सफल भएन। किनकि १९६३ बाट कुनै पनि थाइलासिन सामग्री रेकर्ड गरिएको थिएन।’ २००२ मा लोप भएका प्रजातिबारे किताब लेखेका रोबर्ट प्याडलले भनेका छन्।

मूलतः अष्ट्रेलियाभरि फैलिएको मानिने तस्मानियाली बाघको संख्या मानव र डिङ्गोको प्रभावको कारणले घटेको अनुमान गरिएको छ।

अन्ततः मार्सुपियल तस्मानिया टापुमा मात्र फेला परेको यो बाघ त्यहीँ नै लोप भयो। अहिले वैज्ञानिकहरू यो बाघ पुनर्जिवित गर्ने प्रयासमा लागिरहेका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?