एक महिना लामो अष्ट्रेलिया टुरमा लोकगायक पशुपति शर्मा र सम्झना लामिछाने
अष्ट्रेलियाको क्वीन्सल्याण्डका विभिन्न स्थानमा यतिबेला लोकदोहोरी गीतहरुको झन्कार घन्किएको छ । मादलको ताल र झ्याउरे भाकामात्र होइन दोहोरीको घोचक छेडखानी पनि चलिरहेको छ । यहाँ रहेका नेपाली समूदायले बारम्बार सबै कार्यक्रम शहर केन्द्रित मात्र भए भनेर गुनासो गरिरहेको बेला केन्समा गत अप्रिल २ तारिखका दिन, ब्रिसबेनमा हिजो शनिबार ९ अप्रिलमा र रकह्याम्पटनमा आज नोपली नयाँ वर्षको स्वागत गर्दै कार्यक्रम भएको हो । यसैगरी क्वीन्सल्याण्डकै टुवोन्गवामा मंगलबार कार्यक्रम गर्ने तयारी छ । एनआरएन क्वीन्सल्याण्डको प्रस्तुति रहेको नयाँ वर्षको यो कार्यक्रममा नेप्लीज एशोसिएसन अफ क्वीन्सल्याण्डसहित अन्य संघ संस्थाले पनि सहकार्य गरेका छन् । गायक पशुपति शर्मा र सम्झना लामिछाने यसपछि मेलबर्नमा चितवन समाज र एनआरएन भिक्टोरियाले आयोजना गर्ने कार्यक्रममा सहभागी हुन त्यसतर्फ लाग्नेछन् । एनआरएन क्वीन्सल्याण्डका संयोजक अभियमानसिंह बस्नेतले दर्शकहरुको उपस्थिति उत्साही बनेको बताउनुभयो । “मुख्यतः कला, संस्कृतिको जगेर्ना गर्ने हाम्रो उद्देश्य हो । अझ यसअघिका सबै कार्यक्रम ब्रिसबेनमा मात्र भए भन्ने गुनासोका आधारमा पनि उहाँहरुके आग्रहमा हामीले गायकहरुलाई स्थानीय तहसम्म लगेका हौं । यसले राम्रो प्रशंसा पायो यसमा हामी खुशी छौं ।”