यस वर्षको नया कप बास्केटबलको उपाधि क्लब काठमाडौंलाई, महिलातर्फ बेनी गल्र्स प्रथम
नेपाली अष्ट्रेलियन युथ एशोसिएसन नयाले हरेक वर्ष आयोजना गर्ने बास्केटबल प्रतियोगिताको यस वर्षको उपाधि क्लब काठमाडौंले जितेको छ । उसले फाईनल स्पर्धामा थकाली सेवा समाजलाई पराजित गरेको हो । यसैगरी एकदिवसीय प्रतियोगितामा महिलातर्फ सहभागी दुई टिमबीचको प्रतिस्पर्धामा बेनी गल्सले म्याग्दी गल्र्सलाई पराजित गरेर उपाधिमाथि कब्जा जमाएको छ । प्रतियोगिताको पुरुषतर्फ मष्टभ्यालुएवल प्लेयरको उपाधि कृष्ण गुरुंगले जिते भने बेष्ट प्वाईन्ट गार्डको उपाधि सजल शाहीले जित्न सफल भए । यस्तै बेष्ट डिफेन्डर निशु, हाई स्कोरर अमृत बन्न सफल भए भने स्पोर्टसम्यानशिप उपाधि विवेक भट्टचनलाई दिइएको थियो । महिलातर्फ मष्ट भ्यालुएवल प्लेयरको उपाधि श्रृष्टिले हात पारिन् । प्रतियोगितापछि आयोजना गरिएको पुरस्कार वितरण समारोहमा बोल्दै एनआरएन अध्यक्ष सुरेन्द्र सिग्देलले युवामाझ यस किसिमका खेल गतिविधि हुनु निकै खुशीको कुरा भएको बताउनुभएको थियो । अध्यक्ष सिग्देलले यस वर्षदेखि महिलाहरुको समेत प्रतिस्पर्धा हुँदा खुशी लागेको भन्दै नयालाई युवा परिचालन गर्ने खेल गतिविधि गर्न आग्रह गर्नुभयो । कार्यक्रममा एनआरएन ओसेनिया क्षेत्रीय संयोजक महेन्द्र लम्साल, एनआरएन अष्ट्रेलियाका प्रवक्ता डा. ज्ञानेन्द्र रेग्मी, सहसचिव भिष्म भण्डारी, एनआरएन न्यूसाउथवेल्सका उपसंयोजक प्रकाश खरेल पनि उपस्थित थिए । सिड्नीको पीसीवाईसी क्लब म्यारिकभिलमा प्रतियोगिता विहान ८ बजेदेखि आयोजना गरिएको थियो । करिब ८ घण्टामा सबै खेल सकिएका थिए । नयाका अध्यक्ष कोमल पाठकले बास्केटबल प्रतियोगिता सफलतापूर्वक संयोजन गर्ने प्रतियोगिता संयोजक सुमन बोहराको प्रशंसा गर्दै सामूहिक कार्यबाट नै नेतृत्व विकास हुँदै जाने बताएका थिए । यसैगरी अध्यक्ष पाठकले उपस्थित सबैलाई धन्यवाद दिँदै युवाहरुका निम्ति आगामी दिनमा विविध कार्यक्रम संस्थाले ल्याउन लागेको जानकारी दिए । प्रतियोगिताका विजेता विजेता टोलीलाई शिल्ड, नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो भने सहभागीहरुलाई प्रमाणपत्र दिइएको थियो ।