अर्जेन्टिना विश्वकपको फाइनलमा पुग्दा मेसी भावुक
मंसिर २८, काठमाडौँ । अर्जेन्टिना कतारमा जारी विश्वकपको फाइनलमा पुगेपछि मेसी भावुक भएका छन्। मेसीको प्रभावशाली प्रदर्शनमा अर्जेन्टिनाले फाइनलमा स्थान पक्का गरेपछि मेसी केही भावुक भएका हुन्।
गतराती भएको खेलमा अर्जेन्टिनाले साविक उपविजेता क्रोएसियालाई ३–० गोल अन्तरले हराउँदै फाइनलमा स्थान पक्का गर्यो। उक्त खेलमा मेसीले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाएका थिए। त्यस्तै, दोश्रो हाफको २० मिनेटमा मेसीको उत्कृष्ट पासमा जुलियन अल्भारेजले गोल गर्दै अर्जेन्टिनाको जित पक्का गरेका थिए।
उक्त जितपछि मेसीले यो क्षण खुसीको पल भएको बताएका छन्। उनले विश्वकपको उपाधिका लागि जो कोहीसँग पनि प्रतिस्पर्धा गर्न सक्षम भएको पनि बताएका छन्।
‘म यो विश्वकपमा धेरै रमाइलो गरिरहेको छु। म वास्तवमै राम्रो महसुस गर्दैछु र कुनै पनि कुराको सामना गर्न पर्याप्त रूपमा बलियो छु।’ मेसीले भनेका छन्। ‘यो टोली धेरै परसम्म जान्छ। हाम्रो टोली बुद्धिमान र चतुर छ। हामी खेलहरू अध्ययन सक्छौं र आवश्यक पर्दा बललाई के गर्ने भनेर हामीलाई थाहा छ। हामीले उत्कृष्ट प्राविधिक फुटबल खेलेका छौं।’
साढे चार वर्षअघि मस्कोमा फ्रान्ससँग पराजित भएपछि क्रोएसिया लगातार फाइनलमा पुग्न खोजिरहेको थियो। तर, क्रोएसियाको लक्ष्यमा मेसी र अर्जेन्टिना बाधक भए।
मेसीले यो नै उनको अन्तिम विश्वकप हुने बताएका छन्। यस विषयमा कुरा गर्दा उनी भावुक देखिन्थे। मेसीको नेतृत्वमा अर्जेन्टिना दोश्रो पटक विश्वकप फुटबलको फाइनलमा पुगेको हो। २०१४ को फाइनलमा अर्जेन्टिना जर्मनीसँग पराजित भएको थियो।
जारी विश्वकपमा मेसी अहिलेसम्म कै उत्कृष्ट लयमा छन्। उनले कतार विश्वकपमा ५ गोल गर्दै ३ गोलका लागि पास उपलब्ध गराएका छन्।