आमनिर्वाचनको अन्तिम परिणाम सार्वजनिक, भोलि राष्ट्रपतिलाई बुझाइने


मंसिर २८, काठमाडौँ । निर्वाचन आयोगले आमनिर्वाचन २०७९ को अन्तिम परिणाम सार्वजनिक गरेको छ। बुधबार आयोग कार्यालयमा भएको पत्रकार सम्मेलनमार्फत् आमनिर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको हो।

यस्तै आयोगले प्रतिनिधिसभातर्फको अन्तिम मतपरिणाम भोलि बिहीबार राष्ट्रपतिसमक्ष पेस गर्ने जनाएको छ। प्रदेश सभातर्फको अन्तिम मतपरिणाम आउँदो २ पुसमा प्रदेश प्रमुखसमक्ष बुझाइने निर्वाचन आयोगले जनाएको छ।

आयोगले तयार पारेको निर्वाचन परिणाम प्रतिवेदन अनुसार प्रतिनिधि सभातर्फ २७५ र प्रदेश सभातर्फ ५५० जना गरी कूल ८२५ जना निर्वाचित भएका छन्। जसमध्ये प्रतिनिधि सभातर्फ १८४ जना पुरुष (६६ दशमलव ९० प्रतिशत) र ९१ जना महिला ९३३ दशमलव १० प्रतिशत० निर्वाचित भएका आयोगले जनाएको छ।

यता प्रदेशसभातर्फ ३५० जना पुरुष (६३ दशमलव ६४ प्रतिशत) र महिला २०० जना (३६ दशमलव ३६ प्रतिशत) निर्वाचित भएका छन्।

यसपटकको आम निर्वाचनमा प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ८६ वटा राजनीतिक दलमध्ये ६१ वटा र समानुपातिक निर्वाचन प्रणालीतर्फ ४७ वटा राजनीतिक दल निर्वाचनमा सहभागी भएका आयोगले उल्लेख गरेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?