कतारको विश्वकप रंगशालामा लडेर आप्रबासी कामदारको मृत्यु
मंसिर २९, काठमाडौँ । कतारमा जारी विश्वकप रंगशालामा लडेर एक सुरक्षा गार्डको मृत्यु भएको छ। आयोजकले सुरक्षा गार्डको मृत्यु भएको पुष्टि गरेको छ।
शनिबार लुसेल स्टेडियममा जोन न्जाउ किबु खसेको आयोजक समितिले जनाएको छ। यसै स्टेडियममा आइतबार विश्वकप फुटबलको फाइनल खेल खेलाइँदैछ।
स्टेडियमबाट खसेका उनलाई अस्पताल लगेर सघन उपचारमा राखिएको थियो। तर मंगलबार उनको मृत्यु भयो।
स्टेडियमहरूमा सुरक्षा कर्मचारीहरू विशेष गरी केन्या र अन्य अफ्रिकी राष्ट्रहरूका आप्रवासी कामदारहरू छन्। तर, मृतक किबु कुन देशका नागरिक हुन् भन्ने आयोजकले जानकारी दिएको छैन।
उनको परिवारलाई किबुको मृत्युबारे जानकारी दिइएको र घटनाको अनुसन्धान भइरहेको आयोजकले बताएको छ। शनिबार लुसेल रंगशालामा कुनै खेल खेलाइएको थिएन।
कतारमा विश्वकप स्टेडियम बनाउँदा ६ हजारभन्दा बढी आप्रबासी कामदारको मृत्यु भएको भन्दै अन्तर्राष्ट्रिय समुदाय र अधिकारकर्मीहरूले आलोचना गरिरहेका छन्।