आमनिर्वाचनको अन्तिम परिणामपछि कुन दलमा कति सांसद ?
मंसिर २९, काठमाडौँ । आमनिर्वाचन २०७९ को अन्तिम परिणाम सार्वजनिक भइसकेको छ। निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको अन्तिम परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश भएको छ। राष्ट्रपतिसमक्ष निर्वाचन नतिजा पेस भएसँगै सरकार गठनको बाटोसमेत खुलेको छ।
सरकार गठनका लागि दलहरूबीच दौडधुप सुरु हुँदा विभिन्न राजनीतिक दलले विभिन्न संख्यामा सिट संख्या पाएका छन्। यद्यपि एक्लै सरकार बनाउन सक्ने हैसियतमा कुनै दलसँग पनि बहुमत देखिँदैन। आमनिर्वाचन २०७९ मा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेस पहिलो दल बनेको छ। उसले प्रतिनिधि सभामा प्रत्यक्ष र समानुपातिक गरी कूल ८९ सिट प्राप्त गरेको छ।
यस्तै नेकपा एमालेले ७८ सिट पाएको छ भने नेकपा माओवादी केन्द्रले ३२ जितेको छ। नेपालकै कान्छो पाटीका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभामा २० सिट पाएको छ।
यता राष्ट्रिय प्रजातन्त्र पार्टीले १४, जनता समाजवादी पार्टीबाट १२, नेकपा एकीकृत समाजवादीबाट १०, जनमत पार्टीबाट ६, लोकतान्त्रिक समाजवादी पार्टीबाट ४ जना सांसद बनेका छन्।
यस्तै नागरिक उन्मुक्ति पार्टीबाट ३, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाबाट १९१ जनाले निर्वाचित भएका छन्। स्वतन्त्र ५ जना सांसद स्वतन्त्र रूपमा निर्वाचित बनेका छन्।