काठमाडौँमा घर फोडेर ३९ तोला सुन र १ लाख ७१ हजार चोरी, गोरखाका घले पक्राउ


पुस १, काठमाडौँ । काठमाडौंको वनस्थलीमा घर फोडेर ३९ तोला सुन र १ लाख ७१ हजार चोर्ने एक जना पक्राउ परेका छन्।

गत मंसिर १८ गते घरको ढोका फोडेर घरबेटीको २६ तोला सुन र एक लाख १४ नगद तथा सोही घरमा भाडामा बस्नेको कोठाबाट १३ तोला सुन र ५७ हजार रुपैयाँ नगद चोरेर फरार रहेका गोरखाका डिलबहादुर घले पक्राउ परेका हुन्।

बिहीबार उनलाई गोरखाको गोरखा नगरपालिका ६ बाट पक्राउ गरेको महानगरीय अपराध अनुसन्धान कार्यालयले जनाएको छ। उनी यसअघि २०७२ जेठमा समेत काठमाडौं महानगरपालिका २६ बाट एक घरमा चोरी गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतबाट १ वर्ष ६ महिना १९ दिन कैद र २ लाख ७२ हजार ८९९ रुपैयाँ जरिवाना समेत भुक्तान गरी डिल्लीबजार कारागारबाट छुटेका थिए।

उनलाई पक्राउ पश्चात थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बालाजु पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?