मानसिक स्वास्थ्य महाशाखा स्थापना गरिने
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छिट्टै मानसिक स्वास्थ्य महाशाखा स्थापना गर्ने भएको छ । मानसिक रोगलाई सम्बोधन गर्न एवम् नयाँ स्वास्थ्य नीति २०७१ ले निर्दिष्ट गरेका लक्ष्यलाई पूरा गर्न सो महाशाखा स्थापना गर्न लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारीले जानकारी दिनुभयो । विश्व मानसिक रोग दिवसका अवसरमा कोसिस राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन सङ्गठनद्वारा शुक्रबार यहाँ आयोजित कार्यक्रममा उहाँले अञ्चल तथा जिल्ला अस्पतालमा मानसिक रोग उपचार सेवा विस्तार गर्न लागिएको बताउनुभयो । हाल नेपालमा करिब ६० लाख जनसङ्ख्या कुनै न कुनै रुपमा मानसिक रोगी रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । मानसिक रोग विशेषज्ञहरूका अनुसार मानिस जीवनमा एकपटक कुनै न कुनै रुपमा मानसिक रोगी हुने तर रोगको मात्रा(स्तर)मात्र फरक हुने गर्दछ । मानसिक रोग उपचार गरी निको भएकाहरूद्वारा सञ्चालित सो संस्थाले मानसिक रोगी भई सडकमा आएकालाई उद्धार तथा पुनःस्थापना तथा मानसिक रोगीलाई मनोपरामर्श सेवा प्रदान गर्ने काम गरिरहेको छ । कार्यक्रममा मन्त्री अधिकारीले हरेक मानिस आफ्नो जीवनकालमा एकपटक कुनै न कुनै रुपमा मानसिक रोगी बन्ने चर्चा गर्दै मानसिक रोगीलाई हेय तथा घृणा गर्न नहुने बताउनुभयो । मन्त्रालयमा प्रमुख विशेषज्ञ डा. विमल ढकालले नसर्ने रोगलाई सरकारका तर्फबाट निःशुल्क रुपमा उपलब्ध गराउने औषधिमा मानसिक रोग पनि रहेको बताउनुभयो । आयोजक संस्थाका अध्यक्ष मातृका देवकोटाले मन्त्रालयमा मानसिक रोगलाई सम्बोधन गर्न महाशाखा स्थापना गर्न माग गर्नुभयो । अधिवक्ता शर्मिला पराजुलीले मानसिक स्वास्थ्य नीतिलाई प्रभावकारी कार्यान्वयन गर्न र यसबारे विद्यालय तहका पाठ्यक्रममा समावेश गर्न माग गर्नुभयो ।