विश्वकप जितेको भोलीपल्ट मेसीलाई ‘वर्ल्ड स्पोर्ट स्टार अफ द इयर’ अवार्ड


पुस ५, काठमाडौँ । अर्जेन्टिनाका विश्वकप विजेता कप्तान लियोनल मेसी २०२२ को ‘बीबीसी स्पोर्ट्स पर्सनालिटीको वर्ल्ड स्पोर्ट स्टार अफ द इयर’ घोषित भएका छन्।

३५ वर्षीय मेसीले अर्जेन्टिनालाई ३६ वर्षपछि कतारमा पहिलो पटक विश्वकप उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए।

पेरिस सेन्ट-जर्मेनका फरवार्डले आफ्नो पाँचौं विश्वकपमा सात गोल गरेपछि प्रतियोगिताको गोल्डेन बल अवार्ड समेत प्राप्त गरेका थिए। विश्वकपको उत्कृष्ट खेलाडीलाई यो अवार्ड प्रदान गर्ने गरिन्छ।

पूर्व बार्सिलोना स्टारलाई फुटबल जगतको महान फुटबलर मध्ये एकको रूपमा लिइन्छ। झन उनकै कप्तानीमा अर्जेन्टिनाले विश्वकपको उपाधि जितेपछि उनी महान मध्येका एक भइसकेका छन्।

विश्वकपको फाइनलमा मेसीले २ गोल गरेका थिए। उक्त खेल पेनाल्टी सुटआउटमा परिणत भएपछि अर्जेन्टिनाले फ्रान्सलाई ४-२ गोल अन्तरले हराउँदै विश्वकपको ट्रफि घर लगेको थियो।

मेसीले वर्षको उत्कृष्ट फुटबल खेलाडीलाई दिइने ब्यालोन डे’अर कीर्तिमानी ७ पटक जितेका छन्। विश्वकपका २ संस्करणमा गोल्डेन बल जित्ने एकमात्र खेलाडी पनि मेसी नै हुन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?