विश्वकप जितेको खुसियाली मनाइरहँदा ठुलो दुर्घटनाबाट जोगिए मेसीसहित अर्जेन्टिनाका पाँच खेलाडी
पुस ५, एजेन्सी । अहिले अर्जेन्टिनामा विश्वकप विजेता टोलीले विजयी जुलुस मनाइरहेको छ। मंगलबार स्थानीय समय अनुसार बिहान ४ बजे राजधानी ब्युनस आयर्स पुगेको टोलीलाई समर्थकहरूले भव्य स्वागत गरेका छन्।
अर्जेन्टिनाले खुसियाली मनाउन सार्वजनिक बिदा दिएपछि ब्युनर्स आयर्समा लाखाैँ समर्थकहरूले खेलाडीसँग खुसी साटिरहेका छन्।
तर, विजयी जुलुसमा रमाइरहँदा अर्जेन्टिनामा पाँच जना खेलाडी भने दुर्घटनाबाट बचेका छन्। ओपन टप बसमा सवार गरिरहेका पाँच जना खेलाडी अल्झिएर लड्नबाट जोगिएका छन्।
यसरी जोगिनेमा कप्तान लियोनल मेसी, एंगल डिमारिया, रोड्रिगो डेपल, निकोलस ओटामेन्डी र लियान्ड्रो परेडेस रहेका छन्। आइतबारको फाइनल खेलमा मेसी र डिमारियाले निर्धारित समयमा गोल गरेका थिए।
आइतबार भएको विश्वकप फुटबलको फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिनाले ३६ वर्षपछि तेश्रो विश्वकपको ट्रफि उचालेको थियो।