मेलबर्नमा वाक फर वेलफेयर, अहिलेसम्मकै सबैभन्दा बढी विद्यार्थी सहभागी
विद्यार्थी कल्याणकारी कोष निर्माणका लागि अष्ट्रेलियाभर आयोजना गरिएको वाक फर वेलफेयरको मेलबर्न संस्करण सम्पन्न भएको छ । मेलबर्नको यारा नदीको किनारमा करिब २ किलोमिटर हिंडेर उनीहरुले विद्यार्थीहरुको निम्ति स्थापना गर्न लागिएको कल्याणकारी कोषमा योगदान दिए । अष्ट्रेलियामा यसअघि सिड्नी, ब्रिसबेन, पर्थमा वाक फर वेलफेयर भइसकेको छ भने मेलबर्नमा सबैभन्दा बढी विद्यार्थी सहभागी थिए । करिब १ सय ५० जना उपस्थित वाक फर वेलफेयरको अन्त्यमा संक्षिप्त औपचारिक कार्यक्रम गर्दै सहयोग गर्ने संघ संस्था, प्रायोजकहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदुत चन्द्र योञ्जनले सबै संघ संस्थाको सहकार्य र विद्यार्थीको समेत सहभागितामा कल्याणकारी कोषको सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले विद्यार्थीहरुलाई आर्थिक मात्र नभई मनोवैज्ञानिक र सामाजिक सहयोग समेत दिनुपर्ने बताउनुभयो । कार्यक्रममा एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देल, एनआरएन क्षेत्रीय संयोजक महेन्द्र लम्साल, वाक फर वेलफेयरका नेशनल कोअर्डिनेटर शमिम अनवर, एनआरएन अष्ट्रेलियाका सचिव टोनु घोताने, कोषाध्यक्ष डिला खरेल, एनआरएन आईसीसी प्रवक्ता रञ्जु वाग्ले, आईसीसी सदस्य राजु अधिकारी, न्याभका अध्यक्ष अनुपम पोखरेलले कार्यक्रम सफल बनेको र आगामी दिनमा विद्यार्थीको निम्ति थप योजनासहितका कार्यक्रम ल्याउने बताएका थिए । विद्यार्थीको तर्फबाट बोल्दै नेप्लीज युथ एशोसिएसनका श्रीकृष्ण सिलवालले ताप्के मात्र तातेर हुँदैन विंड पनि तात्नु पर्छ भन्दै विद्यार्थीहरुको सक्रिय सहभागिताबाट यस कार्यक्रमको उद्देश्य प्राप्ति हुने बताएका थिए । वाक फर वेलफेयरमा नेप्लीज एशोसिएसन भिक्टोरिया लगायतका विभिन्न संघ संस्थाको सहभागिता थियो । कार्यक्रमको सञ्चालन एनआरएन भिक्टोरियाका संयोजक केशव कँडेलले गरेका थिए । वाक फर वेलफेयरको एडिलेड संस्करण आगामी मे ७ तारिखका दिन आयोजना हुँदैछ ।