पारसको शतकमा नेपालको अर्को जित, नामिबिया ३ विकेटले पराजित


Paras Khadka

आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले नामिवियालाई ३ विकेटले पराजित गरेको छ । नेपाली टोलीका कप्तान पारस खड्काको १०३ रन र शरद भेषवाकरले अविजित ७४ रन बनाएपछि नेपालले नामिबियालाई ३ विकेटले पराजित गरेको हो ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेपालले टस जितेर पहिलो फिल्डङ गर्ने निर्णय गरेको थियो । नामिबियाले पहिलो ब्याटिङ गर्दै २ सय ३९ रन बनाएको थियो ।

२४० रनको ठूलो लक्ष्य पछ्याउँन मैदानमा आएको नेपालले २४ रनमा नरेश र ३७ रनमा ज्ञानेन्द्रलाई गुमाएको थियो । तर त्यसपछि क्रिजमा आएका शरद भेषवाकर र कप्तान पारस खड्काले गतिलो साझेदारी गरेपछि नेपाल जित तर्फ अग्रसर भएको थियो ।

पारसले ९४ बलमा १०३ रन बनाएका थिए भने शरदले १०७ बलमा अविजित ७४ रन बनाएका थिए । नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले पनि महत्वपूर्ण २२ रन बनाएका थिए ।

नामिबियाका लागि बर्जरले ३, गोरेनवाल्डले २ र स्मिथ र सनिमनले १–१ विकेट लिएका थिए ।

ब्याटिङतर्फ नामिबियाका ओपनर बार्डले ५१ रन बनाएका थिए भने अर्का ओपनर ग्रीनले ४७ रन बनाएका थिए । यस्तै मध्यक्रमका ब्याट्सम्यान बर्जरले ४३, कोट्जेले ३२ र स्कोल्जले महत्वपूर्ण २२ रन बनाएका थिए ।

नेपालका बलर बसन्त रेग्मी, शक्ति गौचन, सन्दीप लामिछानेले २–२ विकेट लिएका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?