नेपाल टी–२० लिगः म्याच फिक्सिङको आशंकामा वेस्टइन्डिजका खेलाडी उच्च निगरानीमा


पुस २१, काठमाडौँ । काठमाडौंमा जारी नेपाल टी–२० लिगमा ‘म्याच फिक्सिङ’को आशंकापछि प्रहरीले वेस्टइन्डिजका खेलाडीलाई उच्च निगरानीमा राखेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले पनि फिक्सिङको आशंकापछि उनीहरूलाई खेल्न अनुमति दिएको छैन ।

नेपाली क्रिकेट टिमका पूर्वकप्तान तथा काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले सार्वजनिक रूपमै ‘म्याच फिक्सिङको अफर आएको’ भनेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले एसपीको नेतृत्वमा अनुसन्धान टोली नै गठन गरेको छ ।

टोलीले विशेषतः वेस्टइन्डिजका खेलाडीलाई उच्च निगरानीमा राखेको जनाएको छ। जसमध्ये विराटनगर सुपर लिगबाट खेल्ने क्याप्टेन आन्द्रे म्याककार्थीलाई सिआइबीले विशेष निगरानीमा राखेको छ ।

सिआइबीका एसएसपी दिनेश आचार्यले टी–२० लिगमा म्याच फिक्सिङको आशंकापछि प्रहरीले अनुसन्धानलाई तीव्रता दिएको बताए। उनले भने, ‘काठमाडौंमा टी–२० लिग चलिरहेको छ । यसमा बेटिङभन्दा पनि हामीले फिक्सिङलाई हेरिरहेका छौँ । पक्राउ त कोही परेका छैनन्। तर, केही खेलाडी हाम्रो उच्च निगरानीमा छन् ।’

‘म्याच फिक्सिङ’को आशंकापछि क्यानले पनि वेस्टइन्डिजका खेलाडीलाई खेलमा रोक लगाएको छ। क्यानका अनुसार टी–२० लिगमा ‘म्याच फिक्सिङ’भन्दा पनि ‘स्पट फिक्सिङ’को आशंका गरिएको छ। ब्याटिङ तथा बलिङमा अब्बल खेलाडीलाई क्याप्टेनले खेलमै सहभागी नगराउनुलाई ‘स्पट फिक्सिङ’ भनिन्छ।

क्यानका एक उच्च अधिकारीले भने, ‘टी–२० लिगमा ‘म्याच फिक्सिङ’भन्दा पनि ‘स्पट फिक्सिङ’को आशंका छ। विशेषगरी वेस्टइन्डिजका खेलाडी शंकाको घेरामा छन्  भनेर यो समाचार आजको नयाँपत्रिकाले लेखेको छ। जसमध्ये आन्द्रे म्याककार्थीलाई हामीले उच्च निगरानीमा राखेका छौँ। उनलाई तत्कालका लागि खेल्न पनि रोकेका छौँ।’

क्यानकै आयोजनामा टी–२० लिग कीर्तिपुरस्थित क्रिकेट रंगशालामा १३ दिनदेखि जारी छ। लिगको व्यवस्थापन भने भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस्ले गरिरहेको छ। उससँग क्यानले आगामी आठ वर्षका लागि लिगको व्यवस्थापन गर्न सम्झौता गरेको छ।

टी–२० लिगकै क्रममा १३ पुसमा पनि प्रहरीले रंगशालाबाट बेटिङ गरेको आशंकामा रुपन्देही तिलोत्तमा नगरपालिका– ३ का २८ वर्षीय प्रकाश पाण्डेसहित तीनजनालाई पक्राउ गरेका थियो। त्यस दिन रंगशालामा काठमाडौं नाइट्स र जनकपुर रोयल्सबीच खेल चल्दै थियो। बेटिङकै आशंकामा प्रहरीले ३ मंसिरमा पनि कीर्तिपुर क्रिकेट रंगशालाबाट ५० जनालाई पक्राउ गरेको थियो।

पक्राउ परेकामध्ये ६ जनालाई प्रहरीले सोधपुछपछि छाडेको थियो । बाँकी ४४ जनालाई भारतीय प्रहरीको जिम्मा लगाएको थियो। दर्शकदीर्घाबाट पक्राउ गरिएका उनीहरू सबै भारतीय नागरिक थिए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?