क्वारेन्टाइनबाट फरार चिनियाँ यात्रुको खोजीमा दक्षिण कोरिया, १ करोड जरिवाना तिराउने तयारी


Photo: AFP

पुस २१, एजेन्सी । दक्षिण कोरियामा उत्रिएपछि परिक्षण गर्दा कोभिड पोजेटिभ देखिएपछि फरार रहेका एक चिनियाँ नागरिकको खोजी भइरहेको अधिकारीहरूले बताएका छन्। मंगलबार अबेर सियोल नजिकको इन्चेन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएपछि परिक्षणका क्रममा कोभिड देखिएका चिनियाँलाई क्वारेन्टाइनमा राख्न नजिकैको होटेलमा सारिएको थियो। तर, उनी त्यहाँबाट वेपत्ता भएका एक स्वास्थ्य अधिकारीले बताएका छन्।

पहिचान नभएको व्यक्तिलाई वान्टेड सूचीमा राखिएको दक्षिण कोरियाली अधिकारी किम जु–योङले बताए। संक्रामक रोग नियन्त्रण तथा रोकथाम ऐन उल्लंघन गरेकोमा दोषी ठहरिएमा उनलाई एक वर्षसम्म कैद वा १ करोड वोन जरिवाना हुन सक्ने बताएका छन्। उनले भने, ‘उनलाई देश निकाला गरिनेछ र निश्चित समयको लागि देश प्रवेश गर्न प्रतिबन्ध लगाइनेछ। ’

मंगलबार दक्षिण कोरियाले चीनबाट आउने यात्रुहरुलाई अनिवार्य कोभिड परीक्षण गर्नुपर्ने जनाएको थियो। कोभिड बढेपछि अहिले भारत, अमेरिका, बेलायतलगायतका देशले चिनियाँ यात्रुको आगमनमा कडाइ गरेका छन्।

कोभिड प्रतिबन्धविरुद्ध देशभित्र चौतर्फी आलोचना र प्रदर्शन हुन थालेपछि केही दिनअघि चीन सरकारले यसअघि लगाउदै आएका सबै प्रतिबन्ध हटाएको थियो। प्रतिबन्ध हटेसँगै देशका विभिन्न सहरमा कोभिड महामारी फेरि बढेको छ।

एउटै सहरमा एकै दिन एक लाखभन्दा बढीलाई संक्रमण देखिएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?