मेलबर्नमा आइतबारबाट न्याभ कप शुरु हुदैँ
पुस २६, मेलबर्न अस्ट्रेलिया । अस्ट्रेलियास्थित मेलबर्नमा आयोजना हुन लागेको क्रिकेट प्रतियोगिता न्याभ कपको तयारी अन्तिम चरणमा पुगेको भिक्टोरिया राज्यको सबैभन्दा पुरानो नेपाली संस्था नेप्लिज् एसोसिएसन अफ भिक्टोरिया (न्याभ) ले प्रतियोगिताको आयोजना गर्न लागेको हो ।
न्याभका पदाधिकारीका अनुसार जनवरी १५ देखि मार्च १९ सम्म चल्ने प्रतियोगितामा १२ टिमले सहभागिता जनाउनेछन् । प्रतियोगिताको यो १८ औं संस्करण हो ।
कोषाध्याक्ष यकेन्द्र तिमिल्सिनाले यहाँ रहेका दोस्रो पुस्तालाई खेलप्रति आकर्षित गर्न र कला भएका नेपालीलाई अवसरको सृजना गर्न न्याभले विभिन्न प्रतियोगिता आयोजना गरिरहेको बताए । न्याभले झन्डै ३ दशकदेखि खेलकुदमात्र नभएर नेपाली भाषा, संस्कृति, परम्परा, साहित्य तथा कलाको संरक्षण तथा उत्थानमा उल्लेख्य योगदान पुर्याइरहेको उनले जानकारी दिए ।
म्याक्सिम्याक्स एजुकेसन एन्ड माइग्रेसनको प्रमुख प्रायोजनमा हुने प्रतियोगितामा एक्सपर्ट सगरमाथा ब्लुज ए, सगरमाथा एक्सपर्ट बी, हिमालयन क्रिकेट क्लब, सुदूरपश्चिम हन्टर, एभरेस्ट लायन्स, काठमाडौं क्यापिटल, रोयल राइनोज क्रिकेट क्लब, ग्रेस गोर्खाली क्रिकेट क्लब, माभेन क्रिकेट क्लब, गुल्मी टाइगर्स, ब्राइटन एभरेस्ट क्लब र नारे किंग्स क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
टी डब्ल्यु पार्क प्रेस्टनमा हुने प्रतियोगिता टी–२० लिग संरचनाअनुसार खेलाइने छ ।
प्रतियोगितामा पहिलो टिमले ३ हजार डलर नगद र ट्रफी र दोस्रो १ हजार डलर नगद पुरस्कार पाउनेछ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रोत्साहनस्वरूप प्लेयर अफ द म्याच, प्लेयर अफ द सिरिज, इमर्जिङ प्लेयरलगायतका पुरस्कारसमेत दिइने छ ।
नेपाली क्रिकेटका पूर्वकप्तान पारस खड्कालाई प्रतियोगिताको सद्भावना दूतका रूपमा नियुक्त गरेको छ । प्रतियोगिताको फाइनलमा उनलाई अभिनन्दन गरिने जानकारी आयोजकले दिएको छ । सोही अवसरमा खड्काले क्रिकेट क्याम्प पनि गर्नेछन् ।