हत्याका आरोपी सञ्जय साह अस्पताल भर्ना
प्रहरी नियन्त्रणमा रहेका निलम्बित सांसद सञ्जयकुमार साहलाई बुधवार जनकपुर अञ्चल अस्पताल भर्ना गराइएको छ । उच्च स्तरीय छानविन समितिको माग गर्दै चैत २३ गतेदेखि आमरण अनशनमा रहेका साहको स्वास्थ्यस्थिति विग्रिन थालेपछि कडा सुरक्षाबीच उनलाई अस्पताल भर्ना गरिएको हो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रमोद यादवका अनुसार(लामो समयदेखि खाना नखाएको कारण उनको शरीरमा पानीको मात्रा न्युन (डिहाईड्रेशन) भएको छ । साहले खाना खान नमानेपछि उनलाई स्लाइन मार्फत ग्लुकोज दिइएर सघन उपचारमा राखिएको यादवले बताए ।
अस्पताल भर्ना गराइएका साहलाई वरिष्ठ फिजिसियन डा.गौराङ्ग मिश्र, रामदेव चौधरी तथा मेसु यादवको टोलीले स्वास्थ्य जाँच गरेका थिए । पानीको आभावमा उनको पिसावमा समेत समस्या देखिएको सम्बद्ध चिकित्सकहरुले जनाएका छन् ।
झण्डै दुई घन्टा सघन उपचार कक्षमा राखिएका साहसंग पत्रकारलाई समेत भेट्न दिइएको थिएन । उपचारको क्रममा फोटो लिन खोजेका संचारकर्मीहरुसंग सुरक्षाकर्मीहरुले दुव्र्यवहार गरेर धपाएका थिए ।
सञ्चार उद्यमी अरुण सिंघानिया हत्याको मुख्य योजनाकारको आरोप लागेको प्रकरणमा साहलाई वयानको लागी जिल्ला अदालत धनुषा लगिएको थियो । वयान दिनु पूर्व उनले आफू अस्वस्थ्य भएकाले उपचारको व्यवस्था मिलाई दिन आग्रह गरेका थिए । साहको आग्रह अनुसार न्यायाधिश राजेन्द्रकुमार आचार्यले उनलाई अस्पताल लग्न आदेश सुनाएका थिए । उनी जनकपुर रामानन्द चोकमा ५ जनाको ज्यान जाने गरी भएको बम काण्डका योजनाकार भएको भन्दै प्रहरीले पक्राउ गरी मुद्दा चलाएका बेला उनीमाथि सिंघानिया हत्याको पनि आरोप थपिएको छ ।
विहीवारदेखि जनकचोकमा आमरण अनशनमा बसेकी साहकी श्रीमति रंगीला देवी साहको अवस्था पनि बिग्रिन थाले पछि उनलाई अनशन स्थलमै स्लाईन पानी दिएर राखिएको छ ।