१८ दिनदेखि बेपत्ता बालकको शव गाडेको अवस्थामा फेला, आमा र सौतेनी आमा पक्राउ
पुस ३०, कैलाली । १८ दिनदेखि बेपत्ता डडेल्धुराको आलीताल गाउँपालिका–८ डाँडाखर्कका ८ वर्षीय बालक भरत बोहराको शव माटोमुनि गाडेको अवस्थामा फेला परेको छ। प्रहरीले शङ्कास्पदस्थल उत्खनन गरेर बालकको शव निकालेको हो।
बोहरा गत १२ पुसदेखि घरपरिवारको सम्पर्कमा थिएनन्। उनको परिवारले समेत उनी हराएको भन्दै प्रहरीलाई समेत जानकारी दिएका थिएनन्। पुस २७ गते स्थानीयले प्रहरीलाई बालक सम्पर्कमा नरहेको बताएका पछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।
बालकका बुबा रोजगारीका लागि घर बाहिर छन्। घरमा आमा, सौतेनी आमा र एक जना उनका दाइ छन्। घर परिवारबाटै उनको हत्या भएको हुन सक्ने भन्दै प्रहरीले दुवै आमालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको ईलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक गंगादत्त बडुले बताए।