सल्यानमा कुल देउतालाई बलि दिन भन्दै मामाले गरे भान्जाको हत्या
माघ १, सल्यान । सल्यानमा आफ्नै मामाले ७ वर्षका भान्जाको कुलदेउतालाई बलि दिन भन्दै हत्या गरेका छन्।
जिल्लाको बनगाड कुपिण्डे नगरपालिका १० माझकाँडा निवासी २४ वर्षीय डम्बर पुरीले सहोदर ठूली दिदीको छोरा रिजन घर्तीलाई घरको कुलदेउताको थानमा लगेर हत्या गरेको वडा अध्यक्ष मोतीलाल घर्तीले जानकारी दिए।
मृतक बालक हर्सिङ घर्तीका छोरा हुन्। ‘आफ्नै छोरासंग खेलिरहेको भान्जालाई दिउँसो १ बजे कुलदेउताको थानमा लगेर खुर्पाले काटे छ।’ वडा अध्यक्ष घर्ती भन्छन् ‘छोराले देखेर बाबाले रिजनलाई काट्यो भन्दै चिच्याउँदै दौडेपछि बालकको आमा जाँदा उनलाई पनि खुर्पाले लखेटेपछि गाउँले सबै मिलेर समातेर प्रहरीलाई बुझाए छन्।’
मृतक भान्जा र मामाको घर नजिकै पर्छ। आरोपीले झारफुकको समेत काम गर्ने गर्दै आएका थिए। मृतक बालककी आमा घटना लगत्तै बेहोस भएपनि यो समाचार तयार पार्दासम्म होसमा नआएको वडाध्यक्ष घर्तीले बताएको समाचार आजको राजधानी दैनिकले लेखेको छ।आरोपीलाई २ बजे नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल प्रसाद श्रेष्ठले जानकारी दिए।