सोमबार अष्ट्रेलियाका विभिन्न शहरमा भूकम्पमा ज्यान गुमाएकाहरुको स्मरणमा श्रद्धाञ्जली कार्यक्रम
नेपालमा गतवर्ष करिब ९ हजारको ज्यान जानेगरी गएको महाविनाशकारी भूकम्पमा निधन भएकाहरुको स्मरणमा अष्ट्रेलियाका विभिन्न शहरमा श्रद्धाञ्जली सभाको तयारी गरिएको छ । अप्रिल २५ तारिखका दिन यस किसिमको श्रद्धाञ्जली कार्यक्रम गर्न लागिएको हो । डार्विन र पर्थमा कार्यक्रम गर्ने तय भए लगत्तै यतिबेला मेलबर्न, सिड्नी, ब्रिसबेनमा पनि विभिन्न संघ संस्थाले श्रद्धाञ्जली कार्यक्रम गर्न लागेका छन् । एनआरएनको पहलमा डार्विनमा सोमबार श्रद्धाञ्जली कार्यक्रम हुन लागेको छ । भूकम्प पीडितका नाममा एक वर्षभित्र डार्विनमा संकलित सहयोग रकम समेत सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । यसैगरी मेलबर्नमा नेप्लीज एशोसिएसन अफ भिक्टोरिया, एनआरएन, महावाणिज्यदूतको कार्यालयको संयुक्त पहलमा सोमबार दिउँसो २ बजेदेखि ४ बजेसम्म महावाणिज्यदूतको कार्यालयमा श्रद्धाञ्जली कार्यक्रम गर्न लागिएको हो । उक्त कार्यक्रममा लामा गुरुहरुबाट मन्त्रोच्चारणसहित शान्तिको कामना गर्ने र दिप प्रज्वलन गर्दै दिवंगतहरुको स्मरण गर्ने योजना छ । यसैगरी नेप्लीज युथ एशोसिएसनले पनि सोही दिन साँझ ग्लेनरोय स्टेशनमा मैनबत्तीसहित स्मरण सभा गर्ने भएको छ । अर्कोतर्फ, सिड्नीमा नेपाली अष्ट्रेलियन युथ एशोसिएसन नयाले सिड्नीको एसफिल्डमा सोमबार साँझ ५ बजेदेखि मैनवत्ति प्रज्वलन गरेर महाविनाशकारी भूकम्पमा परी ज्यान गुमाएकाहरुको स्मरण गर्दैछ । नयाका अध्यक्ष कोमल पाठकले स्थानीय लाहुरी ग्रुपसँग मिलेर कार्यक्रम गर्न लागिएको जानकारी दिए । यसैगरी एनआरएन क्वीन्सल्याण्डले पनि सोमबार साँझ ५ः३० बजेदेखि नेपाली पगोडा साउथवैंक ब्रिसबेनमा शान्तिको कामना गर्ने भएको छ । एनआरएन अष्ट्रेलियाले विश्वभरिबाट नै थालिएको संकलनमा सबैभन्दा बढी योगदान दिएको छ । एनआरएनले संकलन गरेको रकमको करिब ३३ प्रतिशत अष्ट्रेलियाबाट मात्रै गएको छ । पुननिर्माणमा साझेदारी गर्ने लक्ष्यका साथ एनआरएनले एक हजार घर भूकम्प पीडितका नाममा बनाउने योजना सारेको भएपनि सरकारी समन्वयको अभावमा अहिलेसम्म यो सुरु हुन सकेको छैन ।