पेरिस जलवायु सम्झौतामा १ सय ७१ देशको हस्ताक्षर


Parisविभिन्न देशका प्रतिनिधिले पेरिस जलवायु सम्झौतामा हस्ताक्षर गरेका छन् । संयुक्त राष्ट्रसंघको मुख्यालय अमेरिकाको न्यूयोर्कमा भेला भएका विश्वका १ सय ७१ देशका प्रतिनिधिले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । मूख्य गरी साना १५ आइल्याण्ड राष्ट्रले यसअघि नै सम्झौतामा हस्ताक्षर गरेका थिए । राष्ट्रसंघका महासचिव वान की मुनले पेरिस जलवायु सम्मेलनले सबै भावी सन्ततिको जीवनलाई राम्ररी व्यवस्थित गर्न सघाउने आशा व्यक्त गर्नुभयो ।

महासचिव वानले अहिले पृथ्वीमा इतिहासकै सबैभन्दा उच्च तापक्रम वृद्धी अनुभव भएको र समय विरुद्धको यो दौड जित्न सबै राष्ट्रले पेरिस जलवायु सम्झौतालाई राष्ट्रिय स्तरमा लागु गर्नुपर्ने बताउनुभयो । ४६ औं विश्व पृथ्वी दिवसको अवसर पारेर हस्ताक्षरित सम्झौता भविष्यका लागि गरिएको उहाँको भनाइ थियो । सम्झौता कार्यान्वयनका लागि अधिकांश देशले संसदमा छलफल गर्नुपर्ने भएकाले त्यसमा ढिलाइ नगर्न पनि उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा ओस्कार विजेता हलिउड अभिनेता एवं जलवायु परिवर्तन अभियन्ता लियोनार्डो डिक्याप्रियो अध्ययन अनुसन्धानका लाग भन्दै पछि हट्ने नभई जलवायु परिवर्तनबाट भएको समस्या समाधानका लागि ठोस काम गर्ने बेला आएको बताउनुभयो ।

विश्वमा धेरै कार्बन उत्सर्जन गर्ने राष्ट्रमा अमेरिका र चीन अघि छन् । चीन एक्लैले २४ तथा अमेरिकाले १२ प्रतिशत कार्बन उत्सर्जन गर्दछ । यस्तै युरोपियन युनियनका देशले ९, भारत र ब्राजिलले समान ६÷६ तथा रुसले ५, जापानले ३, क्यानडाले दुई तथा कंगो र इन्डोनेशियाले समान १ दशमलव ५ प्रतिशत कार्बन उत्सर्जन गरिरहेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?