एन्फाका निलम्बित अध्यक्ष गणेश थापाको अपील फिफाबाट खारेज
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ एन्फाका निलम्बित अध्यक्ष गणेश थापाको अपील खारेज गरेको छ ।
थापाले पदीय दुरुपयोग गरेको भन्दै फिफाले गत कात्तिक २३ गते १० वर्षसम्म फुटबलका कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध लगाएको थियो । त्यसपछि थापाले फिफामा अपील गरेका थिए । फिफाको इथिक्स कमिटिले थापाको प्रतिबन्ध विरुद्धको अपील खारेज गरेको हो ।
यो खारेजीसँगै राप्रपा नेपालका सांसदसमेत रहेका गणेश थापा तत्काल फुटबलमा फर्कने सम्भावना सकिएको छ ।
थापाको अपीललाई फिफाले पूर्ण रुपमा खारेज गरेसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि दबाब भएको छ । अख्तियारले प्रमाण नपुगेको भन्दै थापाको मुद्दा तामेलीमा राखेको थियो । फिफाले १० वर्षे प्रतिवन्ध लगाउने समयमा गणेश थापामाथि झण्डै २१ लाख रुपैयाँ जरिवानासमेत गरेको थियो ।