सन्दीप लामिछानेविरुद्धको मुद्दाका कागजात झिकाउन सर्वोच्चको आदेश
माघ २०, काठमाडाैँ। सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा कैफियत प्रतिवेदन झिकाउने आदेश दिएको छ। आज (शुक्रबार) सर्वोच्चका न्यायाधीश हरि फुँयालको एकल इजलासले सन्दीपविरुद्धको मुद्दामा सो आदेश दिएको हो।
सन्दीपविरुद्ध दर्ता भएको मुद्दादेखि धरौटीमा रिहा गर्ने पाटन उच्च अदालतको आदेशसम्मका सबै कागजात (कैफियत प्रतिवेदन) झिकाउने आदेश न्यायाधीश फुँयालले दिएका छन्।
गत पुस २८ गते उच्च अदालत पाटनले लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। त्यसको भोलिपल्ट पुस २९ गते लामिछानेले जिल्ला अदालत काठमाडौंमा २० लाख धरौटी बुझाएर थुनामुक्त भएका थिए।
उक्त आदेशबदर गर्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले मङ्गलबार सर्वोच्चमा निवेदन दिएको थियो। यता, धरौटीमा रिहा भएका लामिछानेलाई क्रिकेट संघ (क्यान) ले निलम्बन फुकुवा गर्दै राष्ट्रिय टोलीमा समावेश गरिसकेको छ।