सिड्नीमा पनि गतवर्षको विनाशकारी भूकम्पमा ज्यान गुमाएकाहरुको स्मरण
एक वर्ष अघि नेपालमा गएको विनाशकारी भूकम्पको क्रममा दिवंगत हुनुभएकाहरुको आत्माको शान्ति कामना गर्दै उनीहरुको स्मरणमा दिप प्रज्वलन गरेर कार्यक्रम गर्ने क्रममा सिड्नीको एसफिल्डमा पनि शान्ति कामना गरिएको छ ।
नेपलिज युथ एसोसियसन अष्ट्रेलिया (नया) र लाहुरी ग्रुपको सयुक्त आयोजनामा सिड्नीको यशफिल्ड पार्कमा यस्तो दीप प्रज्वलन र शान्तिकामना कार्यक्रम गरिएको हो । उक्त अवसरमा एनआरएनका अध्यक्ष सुरेन्द्र सिग्देल अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो । करिब २ सयभन्दा बढी नेपाली समूदायका सदस्यहरुको उपस्थितिमा भएको कार्यक्रममा सिग्देलले बोल्दै दिवंगतहरुको आत्मशान्तिको कामना गरेका थिए । उनले भूकम्पको केन्द्रविन्दु गोर्खाको वापारभन्दा माथि लाप्राकमा एनआरएनले नमूना बस्ती बनाउने परियोजना अगाडि बढेको र नेपाल सरकारले नमुना बस्ती निर्माण गर्न स्वीकृति दिएको जानकारी दिएका थिए । एनआरएनका ओसेनिया क्षेत्रीय संयोजक महेन्द्र कुमार लम्सालले भुकम्प पीडितहरुको लागि एनआरएनले छिटोभन्दा छिटो नमूना वस्ती निर्माण गर्ने बताएका थिए । कार्यक्रममा नयाका अध्यक्ष कोमल राज पाठकले त्यो कालो दिनको स्मरण गर्न नचाहे पनि त्यसमा दिवंगत भएकाहरुको सम्झनामा र फेरि यस्तो नहोस् भन्ने कामनाका साथ कार्यक्रम राखिएको भन्दै उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । नयाका सल्लाहकार भिष्म भण्डारीले सन्चालन गर्नु भएको दीप प्रज्वलन कार्यक्रममा मैनबत्ति बालेर नेपालको नक्सा र धरहराको प्रतिक बनाइएको थियो ।