नेपाली समाजलाई वीपीको चिन्तनमा हिंडाउँ : पौडेल
नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले बिपी कोइरालाले अघि सार्नुभएको प्रजातान्त्रिक,समाजवादी र राष्ट्रवादी विचारअनुरूपको आचरण गर्नेमात्र बिपीको सच्चा अनुयायी हुने धारणा व्यक्त गर्नुभएको छ । प्रजातान्त्रिक विचार समाजले बिपी जन्मशताब्दीको अवसरमा प्रकाशन गरेको समाजको मुखपत्र चिन्तन नामक बिपी जन्मशताब्दी विशेष अङ्कको आज राजधानीमा लोकार्पण गर्दै उपसभापति पौडेलले बिपीको चिन्तनअनुसार नेपाली समाजलाई हिँडाउनु पर्ने धारणा राख्नु भयो । “काँग्रेस बिपीले अघि सार्नुभएको राजनीतिक, आर्थिक र प्रजातान्त्रिक मूल्य मान्यताको आदर्शबाट विचलित भएको छैन, तर बिपीले अघि सार्नुभएको विचारअनुरूपको व्यवहार गर्नु आवश्यक छ”, उपसभापति पौडेलले भन्नुभयो । काँग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टी संस्थागत ढङ्गबाट चल्नुपर्ने बताउँदै बिपीको चिन्तनअनुरूप सङ्गठनलाई अघि बढाउनमा रहेका कमजोरीहरू हटाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । केन्द्रीय सदस्य डा शेखर कोइरालाले शीर्ष नेताहरू संविधान निर्माणमा गम्भीर नदेखिएको बताउँदै उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्नु ठीक नभएको धारणा राख्नुभयो । कार्यक्रममा प्रजातान्त्रिक विचार समाजका सदस्यहरू राज्यका विभिन्न निकायहरूमा नियुक्ति हुनुभएकामा उहाँहरूलाई उपसभापति पौडेलले सम्मान गर्नुभएको थियो । सम्मानित हुनेहरूमा राष्ट्रिय समाचार समितिका अध्यक्ष कुलचन्द्र वाग्ले, प्रधानमन्त्री सुशील कोइरालाका स्वकीय मुख्य सचिव वसन्तकुमार गौतम, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष डा परासर कोइराला, विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका कुलपति डा जीवराज पोखरेल र सभासद् सकलदेव सुतिहार हुनुहुन्छ । समाजका अध्यक्ष डा केदारनरसिंह केसीको सभापतित्वमा भएको सो कार्यक्रममा नेपाली काँग्रेसका नेताहरू लक्ष्मण घिमिरे, सुरेश मल्ल र स्मारिकाका प्रधान सम्पादक गोकर्ण अर्यालले बिपीको बहुआयामिक व्यक्तित्वका बारेमा प्रकाश पार्नुभएको थियो .