सिंघानिया हत्याका तीन अभियुक्त थुनामा
धनुषा जिल्ला अदालतले जनकपुरका सञ्चार उद्यमी अरुण सिंघानियाको हत्या गरेको अभियोग लागेका तीन जनालाई पूर्वपक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले सिंघानिया हत्याको मुख्य योजनाकार रहेको अभियोग लागेका निलम्बित सांसद संजयकुमार साह, धर्ती सिंह भनिने चन्द्रदीप यादव र एकलाल सहनीलाई पूर्वपक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
निलम्बित सांसद साह जनकपुर बमकाण्डको अभियोगमा पूर्वपक्षको लागि थुनामै रहेका छन् । त्यस्तै घटनामा संलग्न रहेको भनिएका ओमप्रकाश यादव, रामकरण यादव र मुकेश चौधरीलाई भने धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।
अदालतले सिंघानियाको हत्यामा संलग्न रहेर भागेको अभियोग लागेका रामविनोद यादव, पवन लामा, मनक लामा र विजय कुशियतलाई पक्राउ पुर्जी जारी गर्न आदेश दिएको छ ।
त्यस्तै सिंघानिया हत्याको सुटर एवं हतियार व्यवस्थापनको अभियोग लागेका तराईमा सशस्त्र गतिविधी गर्दै आएका कथित जनतान्त्रिक टाईगर जनशक्ति पार्टीका अध्यक्ष धर्ती सिंह भनिने चन्द्रदीप र सोहि घटनामा संलग्न रहेको अभियोगमा एकलाल सहनीलाईसमेत थुनामा राख्न आदालतले आदेश दिएको हो ।
२०६६ साल फागुन १७ गते होली पर्वको दिन जनकपुर डुडे तथा रेडियो टुडेका सञ्चालक सिंघानियाको जनकपुरको शिवचोकमा गोली हानी हत्या भएको थियो ।