टर्की र सिरिया भूकम्पमा परी मृत्यु हुनेको संख्या १२ हजार पुग्यो
एजेन्सी । टर्की र उत्तरी सिरियामा गत सोमवार गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२ हजार नाघेको छ। टर्कीको विपद्सम्बन्धी निकायका अनुसार त्यहाँ ज्यान गुमाउनेहरूको सङ्ख्या करिव करिब ९ हजार पुगेको छ।
यसैगरी सिरियामा भूकम्पमा ज्यान गुमाउनेको संख्या पुष्टि गर्न कठिन भइरहेको बताइएको छ। यद्यपी करिब ३ हजार मानिसको मृत्यु भएको सिरियाली संचार माध्यमहरुले जनाएका छन् ।
राहत तथा उद्दारमा खटिएका सहायता संस्थाहरूले भग्नावशेषमा पुरिएकाहरुलाई जीवितै भेटाउने सम्भावना कम हुँदै गएको बताएका छन्। क्षतिको अवस्थालाई मूल्यांकन गर्दै मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ।
अत्यधिक चिसोका कारण खोज तथा उद्दार कार्यमा कठिनाइ भइरहेको छ। रातको समयमा समेत खोज र उद्दारको काम जारी छ। कतिपय स्थानमा उद्दार कार्य ढिला भएको पीडितहरुको गुनासो छ।
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले दुईवटा विनाशकारी भूकम्पमा भएको प्रकोपको मापन गर्न समेत कठिन भएको बताएका छन्। उनले सरकार खोज, उद्दार र राहतको काममा प्रतिवद्ध भएर लागेको बताए।
संयुक्त राष्ट्रसंघका अधिकारीहरूले २० हजार मानिस हताहत भएका अनुमान गरेका छन्। भूकम्पबाट अति प्रभावित १० प्रान्तमा तीन महिने आपत्काल घोषणा गरिएको छ।