गोंगबुमा मोबाइल लुटेको आरोपमा ४ जना पक्राउ


फागुन २, काठमाडौँ । गोंगबुमा सोमबार भएको यातायात व्यवसायीको आन्दोलनका क्रममा मोबाइल पसलमा भएको लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

ल्होत्से मलस्थित मोबाइल पसलमा चोरी गर्दा गर्दै त्यहाँ कार्यरत सुरक्षा गार्डले उनीहरूलाई नियन्त्रणमा लिएका थिए । गार्डले बुझाएका चार जनालाई प्रहरी वृत्त महाराजगञ्जले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।

ट्राफिक प्रहरीले जरिवाना बढाएको र बसपार्कभित्र मात्रै पार्किङ गर्नुपर्ने प्रावधान राखेको विरोधमा भएको आन्दोलनले उग्र रुप लिँदा तोडफोड र आगजनी भएको थियो । प्रहरी वृत्त, बालाजुको दुई वटा गाडी पनि तोडफोड भएको थियो।

मोबाइल पसलमा भएको चोरीबारे अनुसन्धान गर्न गृह मन्त्रालयले प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहलाई निर्देशन दिएको छ। उनको निर्देशन अनुसार उपत्यका अपराध अनुसन्धान कार्यालयले छानबिन थालेको छ।

भिडियो फुटेजहरुको आधारमा चोरीमा संलग्नहरूको खोजी भइरहेको प्रहरीको भनाइ छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?