सिड्नीको व्यांक्सटाउनमा गोली चल्यो, एकजनाको मृत्यु दुई घाइते
सिड्नीको एक सपिंग सेन्टरमा गोली चल्दा एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् । व्यांक्सटाउन सेन्ट्रल सपिंग सेन्टरको पाकिंगमा विहानको ११ः५० मा भएको घटनामा घाइतेमध्ये एक पुरुष र एक महिला रहेको र उनीहरुको उपचार चलिरहेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार अहिलेसम्म यस घटनासँग सम्बन्धित कुनैपनि गिरफ्तारी भएको छैन । प्रहरीले यो घटना हालै स्थानीय कोन्डेल पार्कमा भएको घटनासँग सम्बन्धित हो वा होइन भन्ने विषयमा केही खुलाएको छैन । फेयरफ्याक्स मिडियाका अनुसार उक्त घटनामा ज्यान गुमाउने व्यक्ति वालिद अहमद हुन् । जसलाई प्रहरीले सर्वाधिक खोजी गरिरहेको थियो । उनी कोन्डेल पार्कमा भएको गोली काण्डका अभियुक्त थिए । नजिकैको व्यांक्सटाउन अस्पतालमा कार्यरत फतिमा ईस्लामका अनुसार उनी पार्किंगमा पुगेकी मात्रै थिइन् दुई पटक गोलीको आवाज सुनियो र महिला चिच्याउँदै गरेको उनले देखिन् । उक्त घटनामा आठ राउण्ड गोली चलेको बताइएको छ । स्थानीय एक व्यक्तिका अनुसार प्रहरीले गलत व्यक्तिलाई पक्राउ गरेको छ । उनी भन्छन्, हाम्रै आँखा अगाडिबाट गोली हान्नेहरु भागे तर प्रहरीले पक्राउ गर्न सकेन । प्रहरीले घटनाको बारेमा यथार्थ जानकारी तत्कालै गराउने जनाएको छ । यो क्षेत्र नेपालीहरुको पनि बसोबास भएको क्षेत्र हो ।