अष्ट्रेलियामा नेपाली फ्रेण्डस अफ लेबर गठन, गोबा कटुवाल र गणेश केसी संयोजक
अष्ट्रेलियाको लेबर पार्टीका समर्थक नेपालीहरुको संस्था नेपाली फ्रेण्डस अफ लेबर गठन भएको छ । सिड्नीमा आयोजित एक कार्यक्रममा फ्रेण्डस अफ लेबरको गठन गरिएको हो । आगामी निर्वाचनमा नेपाली समूदायको तर्फबाट सहकार्यका लागि आयोजना गरिएको मिशेल रोल्याण्डको फ्रण्डरेजिंग डिनरको अवसरमा यस्तो संस्था खोलिएको हो । “अब आधिकारिक रुपमा लेबर पार्टीका निम्ति नेपाली समूदायको प्रतिनिधिमूलक संस्थाको गठन भएको छ । हामी खुशी छौं र यो ऐतिहासिक दिन हो भन्ने लाग्छ”, लेबर पार्टीमा नेपाली समूदायका तर्फबाट संगठित गोबा कटुवालले बताउनुभयो । यसैगरी अर्का अभियन्ता गणेश केसीले अष्ट्रेलियन नेपालीहरुले यहाँको राजनीतिमा चासो बढाउनुपर्ने भन्दै आगामी दिनमा पार्टीमार्फत नेपालमै रहेको अष्ट्रेलियन दूतावासमार्फत भिसा दिने व्यवस्थाका लागि पहल गर्ने बताउनुभयो । कार्यक्रमको प्रमुख अतिथि एवं बहुसंस्कृति छायाँमन्त्री मिशेल रोल्याण्डले नेपाली समूदायको तर्फबाट पाएको साथ र समर्थनका लागि धन्यवाद दिँदै लेबर फ्रेण्डस अफ नेपाल गठन हुनु उपलब्धीपूर्ण रहेको बताउनुभयो । यसैगरी अर्का एमपी श्याम डेष्टियारीले नेपालमा हालै गरेको भ्रमणको स्मरण गर्दै नेपाल र नेपालीका समस्याका साथै यहाँ रहेका अष्ट्रेलियन नेपालीका लागि पनि आगामी दिनमा सहयोगी भूमिका निर्वाह गर्ने बताएका थिए । संस्थाको संरक्षकमा विपक्षी दल लेबर पार्टीका नेता बिल सोर्टन, मिशेल रोल्याण्ड र श्याम डेष्टियारी रहेका छन् । यसैगरी संस्थाको सल्लाहकारमा नेपाली समूदायका अगुवा नारायण प्रधान र ईन्द्रा वन रहनुभएको छ । यस्तै गोवा कटुवाल र गणेश केसी संयोजक रहेको संस्थाका अन्य सदस्यहरुमा कृष्ण गिरी, भरत पन्त, शमिम अनवर, प्रेम सापकोटा, नन्दु गुरुंग, सुदिप कार्की, भोमादेवी लिम्बु, भरत नेपाल, ऋषि आचार्य, कृष्ण निरौला, गोविन्द सापकोटा, निर्मल केसी, राज खनाल, भीमराज सुब्बा, धर्मराज अधिकारी, डा. महेश भण्डारी, सनोन रञ्जित, किरण खनाल र राम घिमिरे रहेका छन् । संस्थाले नेपाली समूदायमा लेबर पार्टीको समर्थन बढाउनका लागि क्रियाशिलता लिने र आगामी चुनाव केन्द्रित भएर अघि बढ्ने बताइएको छ । अष्ट्रेलियाको स्थानीय राजनीतिमा नेपालीहरुको प्रभाव र पहुँच बढ्दै गएको अवस्थामा गठन भएको संस्थाले यस बाटोमा अझ अर्को पाइला थप्ने यहाँका बुद्धिजीवीहरुले विश्वास लिएका छन् । यसअघि लिवरल फ्रेण्डस अफ नेपाल श्री नापितको संयोजकत्वमा गठन भइसकेको छ ।