चिनियाँ प्रकाशन र संस्कृतिको विस्तारका लागि पुस्तक मेला काठमाडौंमा


चिनियाँ प्रकाशन र संस्कृतिसम्बन्धी जानकारी गराउने तथा प्रकाशनका क्षेत्रमा चीन र नेपालबीच आपसी सम्बन्ध विस्तार गर्ने उद्देश्यले काठमाडौंमा ‘चिनियाँ पुस्तक प्रदर्शनी २०१४’ सुरु भएको छ । तिब्बत स्वशासित क्षेत्र सरकारको सूचना तथा प्रकाशन विभाग र नेपाल पुस्तक विक्रेता तथा प्रकाशक सङ्घ नेपालको सहकार्यमा सञ्चालन गरिएको सो प्रदर्शनीको आज पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई, सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजाल, नेपाल सरकारका मुख्य सचिव लीलामणि पौडेललगायतका विशिष्ट व्यक्तिले संयुक्तरूपमा उद्घाटन गर्नुभयो । सो अवसरमा सञ्चार मन्त्री डा रिजालले प्रदर्शनीबाट नेपाल र चीनको आपसी सम्बन्धलाई थप मजबुत बनाउने बताउँदै ज्ञान, सूचना र संस्कृतिको पनि आदानप्रदान हुने धारणा राख्नु भयो । उहाँले अहिलेको विश्व बजारलाई चिन्न र जान्नका लागि चीनको विकास र प्रगतिलाई नेपालजस्तो विकासोन्मुख मुलुकले अध्ययन मनन् गर्नुपर्ने उल्लेख गर्नुभयो । प्रदर्शनीकै अवसरमा नेपालका विभिन्न प्रकाशन संस्था र चिनियाँ प्रकाशन संस्थाबीच प्रकाशन, अनुवाद, बिक्री वितरण र अध्ययन भ्रमण आदानप्रदानसम्बन्धी बेग्लाबेल्लै सम्झौतामा हस्ताक्षर गरियो । तिब्बत केन्द्रित प्रकाशन र सामग्रीलाई बढी स्थान दिइएको प्रदर्शनीमा त्यहाँका १७ प्रकाशन संस्थाको सहभागिता छ । दरबारमार्गस्थित होटल अन्नपूर्णमा जारी प्रदर्शनी यही असोज ३० गतेसम्म चल्नेछ । उद्घाटन कार्यक्रममा मधेसी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, एमाओवादीका नेता हिसिला यमी, पूर्व मन्त्रीहरू दीनानाथ शर्मा र माधवप्रसाद पौडेल, नेपालका लागि चिनियाँ राजदूत ऊ चुन्ताईलगायत उपस्थित हुनुहुन्थ्यो । प्रदर्शनीको अवलोकनका लागि चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वशासित क्षेत्र कमिटीका स्थायी कमिटी सदस्य वुन्हु दोङको नेतृत्वमा २६ सदस्यीय प्रतिनिधिमण्डल नेपाल आएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?