घले गाउँमा सर्वाधिक राशी पुरस्कारको फुटबल प्रतियोगिता हुने
चैत ४, लमजुङ । स्मार्ट भिलेज घलेगाउँमा बैशाख १ गतेदेखि स्मार्ट भिलेज आमन्त्रित छैटौं गोल्ड कप फुटवल प्रतियोगिता हुने भएको छ। यसअघि खुला फुटवल प्रतियोगिता आयोजना गर्दै आएका घलेगाउँबासीले पहिलोपटक आमन्त्रित फुटवल प्रतियोगिता आयोजना गर्न लागेका हुन्।
यसका लागि जिल्लाभित्रका ४ वटा टीम र जिल्ला बाहिरका ६ वटा चर्चित फुटवल क्वलहरुलाई आमन्त्रण गरिएको छ । यो प्रतियोगितामा ‘ए’ डिभिजन खेल्ने फुटवल खेलाडीसमेत सहभागि हुन्छन्।
पर्यटन व्यवस्थापन समिति, स्मार्ट भिलेज घलेगाउँले बेंसीशहरमा पत्रकार भेटघाटको आयोजना गरी पहिलोपटक आयोजना गरिएको आमन्त्रित स्मार्ट भिलेज गोल्ड कप फुटवल प्रतियोगितामा प्रथम हुनेलाई नगद ५ लाख ५ सय ५५ रुपैयाँ, गोल्ड कप र मेडल पुरस्कार राखिएको बताएको छ।
द्धितीय हुनेलाई नगद ३ लाख ३ सय ५५ रुपैयाँ, कप र मेडल राखिएको पर्यटन व्यवस्थापन समिति, स्मार्ट भिलेज घलेगाउँका अध्यक्ष प्रेमबहादुर घलेले बताए। समुद्री सतहदेखि २ हजार १ सय मिटर उचाइको ग्रामीण भेगमा आयोजना गरिने फुटवल प्रतियोगिता नेपालमा सम्भवतः यो पहिलो प्रतियोगिता हो।
त्रिवेणी युवा क्लव बेंसीसहरले प्रथम पुरस्कार ५ लाख रुपैयाँ राखेकोमा घलेगाउँमा आयोजित आमन्त्रित गोल्ड कप फुटवल प्रतियोगिता जिल्लाको हालसम्मकै सवैभन्दा ठूलो पुरस्कार राशीको फुटवल प्रतियोगिता हो। प्रतियोगितामा सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडीलाई नगद १०–१० हजार रुपैयाँ र मेडल प्रदान गरिनेछ । यो कार्यक्रम आयोजना गर्न ३० लाख ८० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।
घलेगाउँमा आयोजना हुने आमन्त्रित फुुटवल प्रतियोगितामा भाग लिने क्लवहरुको नाम पत्रकार भेटघाटमा सार्वजनिक गरिएको छ। जसअनुसार प्रतियोगितामा जिल्ला बाहिरका टीममा कास्की ११, नेपाल भानु युनाइटेड तनहुँ, समाज कल्याण खेलकुद केन्द्र काठमाडौं, सशस्त्र प्रहरी क्लव (एपीएफ) काठमाडौं, गोरखा ब्वयज बुटवल र (रड्स) रामपुर चितवन छन्।
यसैगरी, लमजुङका क्लवमा लालीगुराँस युवा क्लव भुजुङ, त्रिवेणी युवा क्लव बेंसीशहर, बुद्ध युथ क्लव भोटेओडार र बेंसीशहर युथ सोसाइटी शेरा रहेका छन्। नाइन ‘ए’ साइडको स्वर्गभूमि रंगाशालामा हुने प्रतियोगितामा आमन्त्रण गरिएका खेलाडीलाई खाना र वासको निःशुल्क व्यवस्थापन गरिएको छ। क्वहोलासोथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले ग्रामीण भेगमा आयोजना हुने सर्वाधिक राशीको फुटवल प्रतियोगिताले पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने बताए।