लागूऔषध एमफेटामाइनको अन्तर्राष्ट्रिय गिरोहका नेपाल एजेन्ट ५० लाख रुपैयाँसहित पक्राउ
अवैध लागुऔषध एमफेटामाइन (आईस)का अन्तर्राष्ट्रिय कारोबारीलाई प्रहरीले ५० लाख रुपैयाँसहित पक्राउ गरेको छ । लागुऔषध एमफेटामाइन (आईस)को अन्तर्राष्ट्रिय कारोबारीको नेपालका एजेन्ट पूर्णबहादुर पाख्रिन तामाडलाई प्रहरीले पक्राउ गरेको हो ।
लागु औषध नियन्त्रण ब्यूरोले मंगलबार पत्रकार सम्मेलन गरी पक्राउ परेका पाख्रिनलाई सार्वजनिक गरेको हो । धादिङ सत्यदेवी घर भएका पाख्रिन काठमाडौं र नुवाकोटका विभिन्न स्थानमा बस्दै आएको र एमफेटामाइनको अन्तर्राष्ट्रिय कारोबारी चलाउने मुख्य व्यक्ति धर्म तामाड पाख्रिनको भाई भएको प्रहरीले जनाएको छ । धर्म हाल थाइल्याण्डमा रहेको प्रहरीले जनाएको छ ।
आफू प्रहरीको पक्राउ सूचीमा रहेको थाहा पाएपछि पूर्णले प्रहरीको खोजी सूचीबाट आफ्नो नाम हटाउन र आफ्नो मुद्दा मिलाउन ५० लाख रुपैयाँ लिई प्रहरीलगायतका विभिन्न निकायमा सम्पर्क गरिरहेको प्रहरीले जनाएको छ । यसअघि प्रहरीले एमफेटामाइनसहित नेत्र गुरुङ र चित्र तामाङलाई पक्राउ गरेको थियो । उनीहरुकै बयानका आधारमा पूर्ण पाख्रित नेपाल प्रमुख भएको पत्ता लागेको थियो । त्यसपछि प्रहरीले उनलाई पक्राउ सूचीमा राखेको थियो ।