भिक्टोरियाको तालमा पनि मरे ठूलो संख्यामा माछा
चैत १०, मेलबर्न, अष्ट्रेलिया। भिक्टोरियाको एक तालमा हजाराैँ माछाहरू मृत अवस्थामा फेला परेका छन्। राज्यको उत्तरपश्चिममा रहेको कंगारु तालमा हजारौं माछा मृत फेला परेपछि भिक्टोरियन जल प्राधिकरणले शान्त रहन आग्रह गरेको छ।
आइतबार घुम्न गएका व्यक्तिहरूले स्वान हिल र केराङको बीचमा रहेको कंगारु तालमा माछाहरू तैरिरहेको रिपोर्ट गरेका थिए।
उक्त तालमा मुख्यतः ब्रिम प्रजातिको माछा मरेको पाइएको छ। त्यस्तै, ठूलो संख्यामा कोड प्रजातिको माछा पनि मरेका छन्।
कङ्गारु तालको बाटोको छेउमा बस्ने मिस्टिक पार्कका बासिन्दा बिल बेनेट यति ठूलो संख्यामा माछा मरेको कहिल्यै नदेखेको बताएका छन्।उनले माछा मारेको दृश्य र गन्ध भएको बताएका छन्।
कङ्गारु तालमा माछा मरेको घटना सुदूरपश्चिम न्यू साउथ वेल्सको मेनिन्डीमा ठूलो मात्रामा माछा मर्ने घटनासँग मेल खाएको देखिएको छ।
गोलबर्न मरी पानी ग्राहक सेवा अधिकारी पल गिलक्रिस्टले यसरी माछा मर्नुमा पछिल्लो पटकको बाढी मुख्य कारक भएको हुनसक्ने बताएका छन्।
मंगलबारको बैठकमा, स्वान हिल ग्रामीण नगर परिषद्ले स्थानीय सांसद पिटर वाल्श र सम्बन्धित वातावरण तथा पानी मन्त्रीहरूलाई माछा मर्ने विषयमा ध्यानाकर्षण गराउने प्रस्तावको समर्थनमा मतदान गरेको छ।
तर, पल गिलक्रिस्टले माछा मर्नु प्राकृतिक घटनाक्रम भएको बताउँदै यसलाई नियन्त्रण गर्न नसकिने बताएका छन्।