काठमाडाैँ-सिड्नी सिधा उडानका लागि नेपाल एयरलायन्स तोकियो, बाँकी प्रक्रिया सकेपछि उडान हुने


१२ चैत, मेलबर्न, अष्ट्रेलिया । नेपाल एयरलायन्सले अष्ट्रेलिया उडान भर्ने भएको छ। क्यानबेरास्थित नेपाली दूतावासले अष्ट्रेलिया र नेपालबीच सिधा हवाई उडानका लागि नेपाल एयरलायन्सको नाम तोकेको हो।

अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले नेपाल एयरलायन्सको नाम तोकिएसँगै अब राष्ट्रिय ध्वजावाहकले थप प्रक्रिया पुरा गर्नुपर्ने उल्लेख गरेका छन्।

उनले फेसबुकमार्फत जानकारी दिँदै लेखेका छन्,’नेपाली राजदूताबासले हिजो अस्ट्रेलिया सरकारलाई नेपाल एयरलायन्सले काठमाण्डू- सिडनी- काठमाण्डू उड़ान तय गर्ने भनेर संझौता बमोजिम एयरलाइन्स तोकेको छ । अब नेपाल एयरलाइन्स ले अस्ट्रेलियाका निकायहरु संग प्राबिधिक प्रक्रिया शुरू गर्नेछ ।’

बाँकी प्रक्रिया सकिएपछि नेपाल एयरलायन्सले काठमाडाैँ- सिडनी- काठमाडाैँ सिधा उडान भर्नेछ।

२०१९ अक्टोबरमा नेपाल र अष्ट्रेलिया बीच हवाइ उडान सम्झाैता भएको थियो। कोरोना महामारीको समयमा नै नेपाल एयरलायन्सको एक फ्लाइट अष्ट्रेलिया पुगिसकेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?