अन्तिम समयमा एमाले महासचिव पोखरेलको अष्ट्रेलिया भ्रमण रद्द, अधिवेशन ७ तारिखमै
प्रवासी नेपाली मञ्च अष्ट्रेलियाको अधिवेशन उद्घाटनका लागि आउन लाग्नुभएका एमाले महासचिव ईश्वर पोखरेलको अष्ट्रेलिया भ्रमण रद्द भएको छ । एमाओवादीले सरकार छाड्ने विज्ञप्ति जारी गरेपछि विकसित पछिल्लो घटनाक्रमका कारण पोखरेलले विदेश भ्रमण रद्द गर्नुभएको एमाले पार्टी कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले एक विज्ञप्ति जारी गर्दे सार्वजनिक गर्नुभएको छ । विज्ञप्तिमा श्रेष्ठले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका सन्दर्भमा गठबन्धनकै कतिपय दलहरुले अन्यथा निर्णय सार्वजनिक भएको सन्दर्भमा देशभित्रै उपस्थिति र भूमिका महसूस गरेर महासचिवले अष्ट्रेलिया जाने कार्यक्रम रद्द गर्नुभएको हो, भनिएको छ । यसअघि नै एमाले पोलिटव्यूरो सदस्य बृन्दा पाण्डे भने अष्ट्रेलिया आइसक्नुभएको छ । प्रवासी नेपाली मञ्चका एक पदाधिकारीले अधिवेशन निर्धारित समयमा नै हुने र महासचिवको भ्रमण रद्द हुनाले नसर्ने जानकारी दिएका छन् । भिसा प्रोसेस सकेर सबै तयारी पूरा भई यता हिंड्ने बेलामा यस्तो राजनीतिक परिस्थिति निर्माण भयो यसलाई हामीले बुझेका छौं । तर, यहाँ सम्पूर्ण तयारी भइसकेको अवस्थामा मञ्चको अधिवेशन सार्ने कुरा भएन यसैले हामीले अधिवेशनलाई निर्धारित समयमा नै गर्ने तयारी अघि बढाएका छौं, उनले एमएनटीभीसँग भने । प्रमुख अतिथिको विषयमा यस्तो भएपनि यता अष्ट्रेलियामा भने आगामी नेतृत्व कसले गर्ने भन्ने विषयमा छलफल तिव्र बनेको छ । सर्वसम्मतिले निर्णय हुनुपर्ने एकातिर बताइँदैछ भने अर्कोतर्फ यतिबेला चर्चामा एमाले महाधिवेशन प्रतिनिधि रमेश पाण्डे र लामिछाने हरिलाल लामिछानेको नाम अहिलेसम्म चर्चामा आएको छ । तर, एक अर्को पक्षले भने दुबैबीच सहमति खोज्ने र सहमति जुट्न नसके तेश्रो सर्वसम्मत उम्मेद्वार ल्याएर भएपनि सहमति जुटाउने भन्दै प्रयास थालेको छ । आगामी मे ७ र ८ तारिखका दिन सिड्नीमा प्रवासी नेपाली मञ्च अष्ट्रेलियाको अधिवेशन हुँदैछ ।